धरानः गत शनिबारदेखि धरानमा जारी दोस्रो इष्ट टुरिजम मार्टमा सिक्किमको ट्राभल्स एण्ड टुर्स एसोसिएसन र धरानका पर्यटन व्यवसायीबीच सम्झौता भएको छ । पूर्वको पर्यटकीय क्षेत्रको विकास गर्न भारतीय पर्यटकलाई ल्याउन सिक्किम र धरानका पर्यटन व्यवसायीबीच सम्झौतापत्रमा हस्ताक्षर गर्दै धरानमा जारी इष्ट टुरिजम मार्ट सम्पन्न भएको हो ।
पर्यटन व्यवसायी बासुदेव बरालका अनुसार पर्यटन व्यवसायमा हुने बिचौलियालाई निरुत्साहित गर्दै पूर्वको पर्यटन व्यवसायमा सो सम्झौता कोशे ढुङ्गा साबित हुने छ । उनले भने, ‘दुवै देशका पर्यटकलाई घुमाउन सम्झौता पत्रले सहज बनाएको छ, हामीलाई जिम्मेवार बनाएको छ ।’ सम्झौताअनुसार सिक्किम, भुटान, बङ्गलादेशलगायतका पर्यटकलाई पूर्वका पर्यटकीय क्षेत्रमा घुमाउन ल्याउने र नेपाली पर्यटकलाई भारतका पर्यटकीय क्षेत्रमा घुमाउन सहजीकरण गर्ने उल्लेख भएको छ ।
छिमेकी मुलुकका टुर अपरेटरलाई पर्यटकीय गन्तव्यको परिचय नै गराउन नसकेकाले पूर्वको पर्यटन नफस्टाएको उनको भनाइ छ । इस्ट टुरिजम मार्टले दुवै देशका पर्यटन व्यवसायीलाई नजिक बनाएको उनले बताए । धरानबाट सिधै गान्तोकसम्मको बस सञ्चालनमा ल्याउने पनि सम्झौता भएको उनले जानकारी दिए । उनले भने, ‘यसले विशेषगरी मेची कोरिडोरको पर्यटनलाई नयाँ ठाउँमा ल्याउन सहज हुने भएकाले फाइदा हुन्छ ।’
त्यसैगरी बुढासुब्बा प्याराग्लाइडिङ प्रालि र काठमाडौंको ट्राभहिल डटकम प्रालिले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
पूर्वका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारात्मक अभियानअन्तर्गत धरानमा दोस्रो इष्ट टुरिजम मार्ट सञ्चालन भएको थियो । काठमाडौं, पोखरा, चितवनमा मात्रै आकर्षित हुने पर्यटकलाई पूर्वका पर्यटकीय गन्तव्यमा ल्याउन सकिने सम्भावना बढेको छ । पूर्वी नेपालका पनि गन्तव्य खोजिरहेका विदेशी पर्यटकका लागि धरानलाई हब बनाएर पर्यटनको ठूलो सम्भावना रहेको विदेशी पर्यटन व्यवसायी बताउँछन् ।
नेपाली पर्यटन व्यवसायीसँग भारत, भुटान, बंगलादेशका पर्यटन व्यवसायीबीचको बिजनेस टु बिजनेस कार्यक्रमले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न टेवा पुगेको भारतीय पर्यटन व्यवसायी टि चक्रवर्तीको भनाइ छ । उनले भने, ‘हामीले काठमाडौं, पोखरादेखि बाहेकको पर्यटकीय गन्तव्यको विषयमा थाहै थिएन, रक्सौल हुँदै सिधै काठमाडौं जान्थ्यौँ, अब त सिधा विराटनगर हुँदै पूर्वको गन्तव्यको विषयमा थाहा भयो, अब यता आउने प्याकेज तयार गर्न सक्छौँ ।’
भारतीय पर्यटकहरू हिउँमा रमाउन चाहन्छन्, त्यसैले पनि सम्भावना पर्याप्त रहेको चक्रवर्तीको भनाइ छ । हिमालय ट्राभल्स एण्ड टुर्सका सञ्चालकसमेत रहेका चक्रवर्तीले भारतीय पर्यटकलाई पूर्व ल्याउन विभिन्न ब्रोसर, पम्प्लेट तयार गरेर बजारीकरणमा सहयोग गर्ने बताए ।
मार्टको अवलोकन गर्न आएका विदेशी पाहुनालाई फेम ट्रिपको आयोजना गरिएको थियो । आयोजक समितिका अध्यक्ष भवेष श्रेष्ठका अनुसार विदेशी पर्यटन व्यवसायी पूर्वी नेपालको विभिन्न गन्तव्यको फेम ट्रिपमा गएका छन् ।
उनका अनुसार एउटा टोली सुनसरीको कोशी टप्पु क्षेत्र भ्रमण गएको थियो भने भुटानको टोली प्रसिद्ध हलेसी गएका छन् भने सिलगुडी र सिक्किमको टोली इलाम गएका छन् । यस्तै, विहारको टोली धनकुटाको हिले र तेह्रथुमको वसन्तपुर फेम ट्रिपमा गएका छन् । ‘उहाँहरूले घुम्न चाहेका हाम्रा गन्तव्यहरू देखाएर यहाँ पर्यटक घुमाउन ल्याउनुस् भन्ने हो,’ उनले भने, ‘सिक्किमसँग भएको समझदारीको हस्तक्षारले पूर्वी नेपालको पर्यटन विकास र प्रवद्र्धनमा ठूलो मद्दत पुग्नेछ ।’
मार्टमा पूर्वका पर्यटकीय गन्तव्यहरूको प्रचार गरिएको थियो । करीब १ सय २० जना विदेशी पर्यटन व्यवसायीले धरानलगायत पूर्वका गन्तव्यको अवलोकनसमेत गरेका थिए । मार्टमा ७० ओटा स्टलमा देशका विभिन्न शहर पोखरा, चितवन, भैरहवा, काठमाडौं लगायतका पर्यटन व्यवसायी र होटल सञ्चालकले आफ्नो प्याकेजको विषयमा जानकारी गराएका थिए ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न मार्ट आधारशिला बनेको व्यवसायीको भनाइ छ । २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य प्रदेश नम्बर १ ले नै पूरा गर्ने विश्वास पूर्वका पर्यटन व्यवसायीले लिएका छन् ।
मार्टमा भारतको नयाँ दिल्ली, पटना, कोलकत्ता, सिलिगुडी, आसाम, दार्जिलिङ, सिक्किम तथा जयगाउँबाट पर्यटन व्यवसायी सहभागी भएका छन् । यस्तै, तेस्रो मुलुक भुटान र बङ्गलादेशबाट पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । मार्टको अवसरमा आगन्तुक पर्यटकलाई धरान आसपासका पर्यटकीय स्थलको अवलोकन भ्रमण, नेपालका पर्यटन व्यवसायीसँग विदेशी पर्यटन व्यवसायीले (बी टु बी ) बिजनेस टु बिजनेस मिटिङ, विदेशी पर्यटन व्यवसायीले इटहरी र विराटनगरका पर्यटन व्यवसाय प्रोपर्टी भिजिटलगायतका कार्यक्रम आयोजना गरिएको थियो ।