धनकुटाः २०७२ सालको भूकम्पले जीर्ण बनाएको भेडेटारमा रहेको भ्यु टावरको पुनर्निर्माण सम्पन्न भएको छ ।

पर्यटकको मुख्य आकर्षणको रूपमा रहेको धनकुटाको भेडेटारमा रहेको सो टावर ४२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । तत्कालीन जिल्ला विकास समिति, गाविस, पर्यटन विकास कार्यालय काँकरभिट्टाको संयुक्त लगानीमा २०७३ सालमै निर्माण शुरु भएको थियो ।

पछि कतैबाट सहयोग नपाएपछि भ्यु टावर निर्माणको काम बीचैमा अलपत्र परेको थियो । स्थानीय तह गठन भएपछि भने साँगुरीगढी गाउँपालिकाको पहलमा पुनर्निर्माण कार्य अघि बढेको थियो ।

२०५९ सालमा निर्माण गरिएको सो भ्यु टावर २०७२ सालको भूकम्पले जीर्ण बनाएपछि स्थानीय प्रशासनले भत्काएको थियो । चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ छुट्याएर भ्यु टावरमा टायल बिछ्याउने, रेलिङ, तथा कटेज निर्माण गरी थप आकर्षक बनाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले जनाए ।

भ्यु टावर निर्माण भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् । लामो समयसम्म भ्यु टावर नबन्दा भेडेटार आएका कतिपय पर्यटक भ्यु टावर चढ्नकै लागि ओख्रेसम्म पुग्ने गरेका थिए । भेडेटारको पर्यटन प्रबद्र्धनमा भ्यु टावरले महत्वपूर्ण भूमिका खेल्ने गरेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईको भनाइ छ ।

२०४० सालमा बेलायतका तत्कालीन युवराज चाल्र्स आएर चढेको स्थानीय सैलुङ डाँडोमा पहिलो पटक २०५९ सालमा टावर निर्माण गरिएको थियो ।