विराटनगरः कवि गण्डकी पुत्रको अगुवाइमा मोरङको ग्रामथाम गाउँपालिका २ स्थित झोराहाटमा दुई दिने वाङ्मय महोत्सव हुने भएको छ ।

स्थानीय गोपीकृष्ण मणिकर्निका सामुदायिक सेवा केन्द्रमा हुने महोत्सवमा गजल, कविता, छन्द कविता, विभिन्न कार्यपत्र देखी विमर्शहरू हुने आयोजकले बताएको छ ।
दुई दिने कार्यक्रममा पहिलो दिन बिहान साढे एघार बजेको कविता वाचनबाट सुरु कार्यक्रम साँझ सात बजेदेखि दश बजे सम्मको गजल वाचनसँगै सकिनेछ ।

यस्तैगरि, दोस्रो दिनमा बिहान आठ बजे कार्यपत्र प्रस्तुतिबाट सुरु भएको कार्यक्रम तीन बजेपछि औपचारिक रूपमा समापन हुने कवि गण्डकी पुत्र बताउँछन् ।

नेपालमै पहिलोपटक ‘गाउँमा कविता’ ब्यानरमा कविता वाचनको मासिक शृङ्खला परिकल्पना र सञ्चालन गरेका कवि गण्डकी पुत्रले गाउँमा कविता स्थगन भएपछि अगुवाइ गरेको यो पहिलो कार्यक्रम हो ।