इटहरीः विभिन्न तीन वटा कथाकृति निकालिसकेकी इटहरीकि कथाकार रीता ताम्राकारको नयाँ कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा लोकार्पण भएको छ । चर्चित कवि तथा पूर्व सांसद कुन्ता सर्मा, कवि बद्री भिखारी, पूर्व प्राज्ञ तथा कवि विवश पोखरेल, कवि मनु मन्जील, कथाकार शरण राई र स्वयं कथाकार रीता ताम्राकारले आज दिउँसो तीन बजे कृतिको लोकार्पण गरे । सर्माको प्रमुख आतिथ्यमा इटहरीको कोसी सेन्ट जेम्स कलेजको सभाहलमा लोकार्पण समारोह भएको थियो ।

जिबी गजलले संचालन गरेको  लोकार्पण समारोहमा डाक्टर रामजी तिम्सीनाले ताम्राकारको कथाकृतिको बारेमा चर्चा गरेका थिए । तिम्सीनाले कथाकार ताम्राकारको कथा लेखन सुन्दर भएको बताए । पहिलोकृति ‘तुषारापात’ पछि आएका सबै कृतिहरूमा ताम्राकारले प्रगति गर्दै आएको भन्दै तिम्सीनाले तारिफ गरे ।

डाक्टर इन्दिरा मिश्र, कथाकार शरण राईले विराट अनुपमको प्रश्नमा प्यानल डिस्कसन गर्दै कथाकार ताम्राकारको कृति अब्बल भएको बताए । डाक्टर मिश्रले ताम्राकारका कथामा आदर्श पात्रहरू भएका र कथा लेखक काव्यिक भएको बताइन । कथाकार राईले ताम्राकारको तेस्रो कृति ‘संवेग’ पढेपछि आफू प्रभावित भएको बताउँदै कथा लेखनमा भाषाको राम्रो प्रयोग भएको बताए ।

इटहरी साहित्य सञ्चार प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमका सभापति कवि मनु मन्जिलले ताम्राकारको कथा लेखनको प्रगतिको कामना गरे । कार्यक्रममा बोलेका पूर्व प्राज्ञ तथा चर्चित कवि  विवश पोखरेलले ताम्राकारको कथाबाट आफू प्रभावित भएको बताउँदै सफलताको कामना गरे ।

यस्तै, कार्यक्रमकि प्रमुख अतिथि तथा सुनसरी क्षेत्र नम्बर १ कि पूर्व प्रत्यक्ष निर्वाचित सांसद कुन्ता सर्माले ताम्राकार राम्रो कथाकार भएको बताइन । आफूले आख्यान लेख्न नसकेको र पूर्वमा आख्यानमा कम महिला आएको समयमा ताम्राकारले कथा क्षेत्रमा राम्रो गरेको सर्माले बताइन । कथामा महिलालाई बलियो पात्रको रूपमा उभ्याउन र हिंसा नसहि विद्रोह गरेका पात्रहरू उभ्याएर कथा लेख्न सर्माले सल्लाह दिइन ।

समारोहमा इटहरी, धरान, विराटनगर, बेलबारी र आसपासका विभिन्न साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

काठमाडौँको अक्सफोर्ड प्रकाशनले छापेको ‘अनाम परिधि’ कथा संग्रहमा २१ वटा कथाहरू रहेका छन् । २५० मूल्य रहेको पुस्तक कथाकारको चौथौँ हो । यस अगाडि उनले २०६१ सालमा ‘तुषारापात’, २०७३ सालमा ‘दृश्य परिदृश्य’ र २०७४ सालमा ‘संवेग’ नामक तीन कथा सङ्ग्रह प्रकाशन गरिसकेकी छिन ।

अब पाँचौँ कथासंग्रहको लागी आफूले काम सुरु गरेको कथाकार ताम्राकारले बताइन । प्यानल डिस्कसनमा सहभागी उनले आफूले घर, परिवार, समाजमा देखेका पात्र र चरित्रलाई कथामा उतारेको बताइन ।

reeta tamrakar itahari karyakram pradeshportal.com