काँकरभिट्टाः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले नेपाल सरकारले साहित्यको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको बताएका छन् । शुक्रबारदेखि भारतको पश्चिम बङ्गालको दार्जिलिङमा शुरु ‘दोस्रो एशिया साहित्य सम्मेलन २०१९’ मा जाने क्रममा उनले सो भनाइ राखेका हुन् । उनीसहित २३ जना स्रष्टाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

झापाको मेचीनगरमा उनीहरूको सम्मानमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा बोल्दै साहित्यकार लेकालीले सरकारलाई नेपाली साहित्यको विकासका लागि कति प्रतिशत रकम खर्च गरिएको छ भनेर अब हरेक स्रष्टाले सरकारलाई प्रश्न गर्ने बेला आएको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालको व्यवस्थापनमा काँकरभिट्टास्थित देवकोटा पार्क व्यवस्थापन समिति तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मूल आयोजक समितिले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा लेकालीले सरकारले हरेक स्रष्टालाई परिचय पत्रको व्यवस्था गर्न र सोही अनुसारको सुविधा प्रदान गर्न माग गरे ।

नेपाली लेखक, कविलगायत विभिन्न स्रष्टालाई परिचय पत्रका आधारमा उपचारमा सवारी साधनमा, सरकारी कार्यालयमा विशेष छुटको व्यवस्था तथा स्रष्टाका छोराछोरीलाई उच्च शिक्षाका लागि निःशुल्क अध्ययनको व्यवस्था मिलाउन समेत उनले आग्रह गरे । यस विषयमा नेपाली साहित्यिक सङ्घ संस्था र प्रतिष्ठानले पटकपटक सरकारलाई आग्रह गरे पनि कुनै सुनुवाई नभएको उनको भनाइ थियो ।

२०६२÷ ०६३ को ऐतिहासिक राष्ट्रिय जनआन्दोलनपछि नेपालमा साहित्यिक सङ्घ संस्था र प्रतिष्ठान खुल्ने क्रम तीव्र रहेको र त्यसपछि २ सय ५० भन्दा बढी साहित्यिक सङ्घ संस्था र प्रतिष्ठान गठन भएको उनले बताए । नेपालमा विभिन्न समयमा राज्य व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा नेपालका स्रष्टाले खेलेको भूमिकाको चर्चा गर्दै सरकारले यसको उचित मूल्याङ्कन गर्नुपर्नेमा लेकालीले जोड दिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा विश्वभरबाट १ हजार ७ सय आजीवन सदस्य रहेको र यी सदस्यकै माध्यमबाट एशियाको हरेक साहित्यलाई जोड्ने काम भएको उनको भनाइ थियो । सम्मेलनमा भारतका ७ जना स्रष्टालाई सम्मान गरिने भएको छ । समाजको पहिलो सम्मेलन कोरियामा भएको थियो ।

आइतबारसम्म चल्ने सम्मेलनमा अमेरिका, बेलायत, कोरिया, कतार, जापानलगायतका मुलुकबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रमुख प्रतिनिधिसहित विभिन्न स्रष्टा सहभागी भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालले देवकोटा पार्कको विगत तथा वर्तमानका बारेमा जानकारी दिएकी थिइन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार ऋषभदेव घिमिरेले नेपाली साहित्य विकासका लागि हरेक क्षेत्र लाग्नुपर्ने भन्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको पूर्वसन्ध्यामा काँकरभिट्टास्थित देवकोटा पार्क व्यवस्थापन समिति तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मूल आयोजक समितिले विभिन्न मुलुकबाट आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सदस्यप्रति देखाएको सद्भाव र माया सधैँका लागि स्मरण हुने बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार दुर्गा दाहाल, लयप्रसाद प्रसाईंसहित अन्य सदस्य तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार कार्कीलगायतको सहभागिता थियो । देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद खरेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मूल आयोजक समिति अध्यक्ष बालकृष्ण थापा, सचिव निरबहादुर कार्की नेत्रलगायत अन्य पदाधिकारीले खादा पहि¥याएर सम्मानसहित बिदाइ गरेका थिए ।

समितिका अध्यक्ष गणेशकुमार खरेलले देवकोटा जयन्तीमा उपस्थितिकालागि सबैलाई आग्रह गरेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मूल आयोजक समितिका अध्यक्ष बालकृष्ण थापाले देवकोटा पार्क संरक्षणका लागि सबै क्षेत्रको उत्तिकै सहयोग रहेको बताए ।