इटहरीः साताको २ दिन घटेको सेयर बजार मङ्गलबार भने झण्डै ७ अङ्कले उकालो लागेको छ । बजार नाप्ने नेप्से सूचक ६.७७ अङ्कले बढेर १२१७.६५ अङ्कमा पुग्दा समग्रमा बजार ०.५६ प्रतिशतले बढेको हो ।

जम्मा १ सय ६८ कम्पनीको ३३ करोड ४२ लाख ५५ हजार ६ सय २३ रुपैयाँको सेयर किनबेच भएको थियो । ११ लाख १३ हजार २ सय ३१ कित्ता सेयर ४ हजार १ सय ७० पटक किनबेच भएका थिए । नेप्सेमा ११ वटा समूहका सूचकको कारोबार भएकामा फाइनान्स र निर्जीवन बीमा समूहको सूचकमा मात्रै रातो पोतिएको छ ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक १.१२ प्रतिशत र फाइनान्स समूहको सूचक ०.०४ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै होटल समूहको सूचक २.७१ प्रतिशतले बढ्दा सबैभन्दा कम जलविद्युत समूहको सूचक ०.२१ प्रतिशतले बढेको थियो ।

कारोबार रकममा एनआइसी एशिया
कारोबार रकममा एनआइसी एशिया बैंक अग्रस्थानमा रहेको छ । एनआइसी एशियाको २ करोड ७४ लाख ५० हजार ४ सय ९९ रुपैयाँको सेयर किनबेच भएको थियो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र एनएमबि बैंक परेका छन् । कुमारीको २ करोड २८ लाख ८ हजार १ सय २४ रुपैयाँको र एनएमबीको १ करोड ५८ लाख ११ हजार ८ सय १४ रुपैयाँको सेयर किनबेच भएको थियो ।

सेयर सङ्ख्यामा कुमारी अघि
सेयर सङ्ख्यामा भने कुमारी बैंक अघि देखिएको छ । कुमारीको १ लाख ६ सय ३५ कित्ता सेयर किनबेच भएको थियो । देव विकास बैंकको ८३ हजार १६ कित्ता र एनआइसी एशियाको ७० हजार ८ सय १ कित्ता सेयर किनबेच भएको थियो ।

एनआइसी एशियाको कारोबार धेरै पटक
मङ्गलबार एनआइसी एशियाको धेरै पटक कारोबार भएको छ । एनआइसी एशियाको १ सय ८२ पटक सेयर कारोबार हुँदा कुमारी बैंकको १ सय ५४ पटक कारोबार भएको थियो । मेघा बैंकको १ सय १२ पटक र एनएमबी बैंकको १ सय ७ पटक कारोबार भएको थियो । अन्य कुनै पनि कम्पनीको कारोबार १ सय पटकभन्दा बढी भएन ।

किसान माइक्रोफाइनान्सको सेयरको १० प्रतिशत मूल्यवृद्धि
सोमबार झैं मङ्गलबार पनि माइक्रोफाइनान्स समूहका कम्पनीको मूल्य बढेको छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर वितरण गर्ने सूचना सार्वजनिक भएपछि किसान माइक्रोफाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सूर्याेदय लघुवित्तको ६.३१ प्रतिशतले मूल्य बढ्दा उन्नति माइक्रोफाइनान्सको सेयर मूल्य ५.१४ प्रतिशतले बढेको थियो । मिथिला लघुवित्त वित्तीय संस्थाको मूल्य ५.११ प्रतिशतले बढेको थियो ।

राष्ट्रिय बीमा कम्पनी बढी गुमाउनेमा
१ सय २५ प्रतिशत बोनस सेयर दिने भनिए पनि हिसाब किताब नमिलेका कारण सो बोनस रोकिन सक्ने सूचना जारी भएपछि मङ्गलबार राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै मूल्य घटेको छ । सो कम्पनीको संस्थापक र साधारण दुवै समूहको सेयर मूल्य घटेको हो ।

सो कम्पनीको संस्थापक सेयर ७.८५ प्रतिशत र साधारण समूहको सेयरको मूल्य ७.२७ प्रतिशतले घटेको थियो । नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ५.३ प्रतिशत र सेन्ट्रल फाइनान्सको सेयर मूल्य ४.८४ प्रतिशतले घटेको थियो ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ५० अर्ब कायम भएको छ ।