इटहरीः नेपालका लागि टोयोटा ब्राण्डका सवारी साधनको आधिकारिक अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट्स प्रा.लि र गरिमा विकास बैंकबीच अटो लोनसम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार टोयोटा ब्राण्डका सवारी साधनमा कर्जा लगानी गर्दा वार्षिक १०.५० प्रतिशत ब्याजदरमा १२ वर्षसम्मका लागि कर्जा लगानी गर्न सक्नेछ ।

युनाइटेड ट्रेडर्स तथा सो ट्रेडर्सका आधिकारिक डिलरबाट खरीद गरिएका टोयोटा ब्राण्डका सम्पूर्ण सवारी साधनमा गरिमा विकास बैंकले वार्षिक १०.५० ब्याजदरमा १२ वर्षका लागि सरल किस्ताबन्दी योजना लागू हुने भएको हो । दुवै संस्थाबीच सोमबार सम्झौता भएको हो । सम्झौतापत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र युनाइटेड ट्रेडर्सका तर्फबाट महाप्रबन्धक महेशकुमारले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि टोयोटा कम्पनीको लिभा इटिओस खरिदमा मासिक २९ हजार २ सय २ रुपैयाँ र इटिओस क्रस खरिदमा मासिक ३३ हजार ४ सय १९ रुपैयाँ किस्ता पर्ने बताइएको छ । त्यस्तै, बजारमा हालै आएको टोयोटा रसका लागि  ५३ हजार २ सय ३२ रुपैयाँ मासिक किस्ता तिर्नुपर्ने बताइएको छ ।

पर्यटन व्यवसायीलाई पनि सोही सुविधा
युनाइटेड ट्रेडस र गरिमाबीच भएको सो सम्झौताबमोजिमको सुविधा पर्यटन व्यवसायीमा पनि लागू हुने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । सो कर्जा सुविधा बैंकका देशभरका सबै ६१ शाखामा उपलब्ध हुने बताइएको छ ।
बैंकका राजधानीमा ६ वटासहित देशभर ६१ शाखा रहेको बताइएको छ । प्रदेश नम्बर १ का मोरङ, झापा र सुनसरीमा गरी ९ वटा शाखा रहेको क्षेत्रीय प्रबन्धक मीनप्रसाद सुवेदीले बताए ।  बैंकले हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २० अर्ब रुपैयाँ लगानी गरेको जनाएको छ । बैंकले लगानीकर्ताका लागि गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३.७५% नगद लाभांश दिन प्रस्ताव गरेको छ ।