धरानःधरान उपमहानगरपालिका स्थापना भएको १ सय १९ औं वर्ष पुगेको अवसर संगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन धरानमा आज (शुक्रबार) देखि धरान महोत्सव शुरु हुँदैछ ।
नेपाल सरकारद्वारा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० तथा धरान स्थापना दिवसको अवसरमा आयोजना हुने धरान महोत्सव पुष १८ गते देखि २० गते सम्म संचालन हुने भएको छ । धरानको पर्यटन प्रवद्र्धनका लागि महोत्सव ३ दिन सम्म चल्ने उपमहानगरपालिकाले जनाएको छ ।
धरानको संस्कार संस्कृतिलाई बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितीका संयोजक तथा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । महोत्सवमा स्थानीय समुदायको संस्कार, संस्कृतिलाई संस्थागत गर्दै प्रवद्र्धन गरिने उनको भनाई छ । संस्कार संस्कृतिलाई विनियम गर्न नसके सम्म समुदायको आर्थिक उन्नती नहुने भएकाले समुदायको आत्मविश्वास वृद्धिका लागि समुदाय केन्द्रित महोत्सवको आयोजना गर्न लागिएको उनले बताए । उनले भने, ‘धरानमा भएका राईको साकेला, लिम्बुको च्याब्रुङ, नेवारहरुको लाखे नाँच, लगायत अन्य समुदायको संस्कार र संस्कृतिलाई आय संग जोड्न सक्छौं, यसैको सम्भावनाको खोजि गर्न महोत्सव गर्दैछौं ।’ दिनभरी धरानका पर्यटकीय गन्तव्यहरु घुमाएर पर्यटकहरुलाई साँझ समुदायको संस्कार र संस्कृतिमा रमाउने वातावरण तयार गर्न स्थानीयको आत्मविश्वास बढाउन मद्दत पुग्ने उनले बताए ।
धरान सहरको सुरूवात भएको अवसरमा विगतमा पौष २० गते धरान डे मनाउने चलन रहेको भएपनि केहि वर्षदेखि जनप्रतिनिधी नभएकोले उक्त धरान डे मनाउने कार्य रोकिएको थियो । जनप्रतिनिधीहरु निर्वाचित भए पछि पहिलो पटक धरानमा स्थापना उत्सवको रुपमा धरान महोत्सवको आयोजना गरिएको हो ।
धरान १२ स्थित पब्लीक माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने धरान महोत्सवको उदघाटन प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विविध क्षेत्र तथा विधामा योगदान पु¥याउने व्यक्तित्वहरु, १३ औँ दक्षिण एसियालि खेलकुद सागमा पदक प्राप्त गर्ने धरानका खेलाडिहरुलाई सम्मान गरीनुका साथै क्षेत्रगत रुपमा धरानको सदभावनादूत समेत घोषणा गरीने भएको छ ।
महोत्सवमा शैक्षिक प्रदर्शनी, स्वास्थ्य प्रदर्शनी, चित्रकला तथा फोटो प्रदर्शनी, साहसीक खेलकुद प्रदर्शनी, जातिय खानाको प्रदर्शनी तथा बिक्रि, धरानका स्थानीय उत्पादनहरु धातुका सामान, ढाका कपडाका सामान, हस्तकला तथा घरेलु उत्पादनका सामानहरुको प्रदर्शनी, होमस्टे तथा अग्र्यानिक कृषि उत्पादन लगायत पुरातात्विक तथा धार्मिक महत्वका सामाग्रीहरु, बैक तथा वित्तिय संस्था, ईन्सुरेन्स, संचार क्षेत्र तथा पुष्प प्रदर्शनीमा राखिने भएको छ ।
धरान डेको अवसरमा पौष २० गते धरानमा सार्वजनिक विदा समेत दिइने भएको छ । धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले ३ दिनसम्म घरघरमा साँझ दिपावलि गर्न समेत आग्रह गरेका छन् । औपचारीक कार्यक्रमको समयमा हेलिकप्टरबाट पुष्पवृष्टी गरीनेछ । उक्त समयमा नै प्रदेश नम्बर १ बाट शुभारम्भ गरि कर्णाली प्रदेशमा समापन हुने प्याराग्लाईडिङको सप्ताह व्यापी भ्रमण वर्ष २०२० को प्रचारप्रसार कार्यक्रमको उद्घाटन हुने भएकोले धरानमा ४० वटासम्म प्याराग्लाईडिङ हुने बताइएको छ । महोत्सव अवधिभरी वरीष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ लगायत धरानका कलाकारहरुको प्रस्तुति रहने छ । यसका साथै धरानमा रहेका विभिन्न जातजातिको जातिय संस्कृतिक नृत्य तथा जातिय संस्कृति झल्कने कार्यक्रम रहनेछन् ।
सास्कृतिक कार्यक्रममा पूर्विय लोक भाका झल्कने जुवारी सांगीतिक कार्यक्रम समेत हुने भएको छ । कार्यक्रमकै अवसरमा प्रदेश स्तरीय साहित्यिक कार्यक्रममा प्रदेश नम्बर १ मा छरीएर रहेका साहित्यकारहरूले धरानको विषयवस्तु उजागर गर्ने प्रकृतिका गित, गजल, कविता लगायतको आफ्नो प्रस्तुति राख्ने समेत बताइएको छ ।