इटहरीःप्रहरी र चतराका आफ्का केही विरोधी मानिसहरुलाई सेटिङ मिलाएर आफ्नै एक अनुयायी महिलालाई बलात्कार आरोप अनुसन्धानका क्रममा विराट नर्सिङ होमको भीआइपी कक्षमा बसेका सिद्धबाबा भनिने  कृष्णबहादुर गिरी(कृष्णदास) आइतवार सुटुक्क चतरा स्थित आश्रम फर्किएका छन् । उनलाई अस्पतालले ३८ दिनपछि डिस्र्चाजको नाटक गरेपछि आश्रम फर्किएका हुन् । सुनसरी प्रहरी र अस्पतालको समेत सेटिङमा उनलाई विरामीको बहना बनाएर भीआइपी कक्षमा राखिएको थियो ।
बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीले गत सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए लगत्तै उनी उपचारका लागि भन्दै पुनः विराट नर्सिङ होममा भर्ना भएका थिए । धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएपनि तत्काल चतरा फर्कने अवस्था नभएकाले सबै खालको माहोल मिलाउन उनि थप उपचारको बहनामा पुनः अस्पताल फर्किएका थिए ।
अस्पताल भएकै समयमा उनि सुक्रबार राती विराटनगरका केही उद्योगी व्यपारीहरुसंग सुटुक्क चतरा स्थित आश्रम पुगेर आफुलाई चतरा प्रवेश नै गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका मध्ये केही स्थानीयलाई भेटेर वातावरण मिलाएर फर्किको स्रोतको दावी छ । बलात्कार आरोप लागेपछि मंसिर १२ गतेबाट उनको अस्पताल बसाई सुरु भएको थियो। धरौटीमा छाड्ने अदालतबाट आदेश आएको एक सातापछि उनलाई अस्पतालले डिस्चार्ज दिएको हो।
दीक्षा दिने बहनामा मध्यरातमा बोलाएर चतरा धामको आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै अनुयायीले उजुरी दिएपछि प्रहरीले उनीविरुद्ध जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । प्रहरीले नै सेटिङमा सिद्धबाबासंग मोटो रकम लिएर मिशिल कमजोर बनाएको थियो ।
उजुरी दर्ता भएको बाहिरिएपछि छात्ती, मुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै कृष्णबहादुर अस्पताल भर्ना भएका थिए । अवस्था गम्भीर बनेको भन्दै उनलाई आईसीयूमा पनि भर्ना गरियो । प्रहरीले मंसिर १६ गते आईसीयूदेखि नै पक्राउ गरेर अदालतबाट पहिलो पटक म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो । उनलाई आईसीयूमा राखिएपनि लुतो र दादको औषधी चलाइएको थियो । अदालतबाट अनुसन्धानका लागि चार पटकसम्म म्याद थप गरिए पनि उनको अनुसन्धान अवधि अस्पतालको डिलक्स रुममै बित्यो । अस्पतालको शैयाबाटै अनुसन्धानका क्रममा बयान लिइयो ।
उनलाई अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै उपचार सुरु गरेका थिए । गिरीले कृष्णबहादुर खतरामुक्त नरहेका कारण लामो समय चिकित्सकको निगरानीमा अस्पतालमै राखेर उपचार गर्नु परेको दाबी गरेका छन् । उनले अदालतमा पनि यही कुरा लेखेर पठाइदिएको बताए । उपचार प्रक्रिया पूरा भएर स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई आइतबार भने डिस्चार्ज गरिएको अस्पतालले नाटकिय जवाफ दिएको छ ।
सर्वसाधारण जोकोहीलाई उपचार गरेको पैसा तिर्न नसक्दा बन्धक बनाएर राख्ने गरेको अस्पतालले कृष्णबहादुरलाई भने पैसा नतिरिकन छाडिदिएको छ । उनको उपचार र औषधिमा कति रुपैयाँ खर्च भयो भन्ने हिसाब सार्वजनिक गर्न अस्पतालले पनि मानेको छैन । यो सबै काम उद्योगी व्यपारीहरुको नेतृत्व गर्ने ठूला व्यपारीहरुले गरेका हुन् । सिद्धबाबाले आश्रमका नाममा उठाएका पैसा चलाउदै आएका विराटनगरमा सिमित उद्योगी व्यवसायीहरुले उनलाई जोगाउन राम्रो योजना बुनेका थिए । योजना अनुसार राम्रो रकम खर्च गरेर कृष्णदासलाई पुनः आश्रमसम्म पुर्याएको स्रोतको दावी छ ।
अस्पतालका लेखापाल सुवास पोखरेलले कृष्णबहादुरको उपचारमा कुल खर्च कति भयो भन्ने यकिन हिसाब नआएकाले भुक्तानी बाँकी रहेको दावी गरेका छन् । ‘अन्तिम हिसाब निकाल्ने काम भइरहेको छ,’ उनले भने ।
पोखरेलले कृष्णबहादुरलाई उपचारका क्रममा अस्पतालका विभिन्न रुम र वार्डमा राखिएका कारण सबैको एकमुष्ट हिसाब आएपछि मात्रै उपचार खर्चका बारेमा भन्न सकिने बताए ।
अस्पतालबाट डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममा पुगेको जानकारी प्राप्त भएको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखेलले बताए । ‘अस्पतालबाट सिधै कृष्णबहादुर आश्रम गएको पाइयो,’ उनले भने, ‘तर अस्पतालबाट निस्किएपछि र त्यहाँ पुगेपछि पनि प्रहरीलाई खवर भने भएन ।’
जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले यो मुद्दामा दिएको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा निवेदन परिसकेको छ । निवेदन उपर सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिन भित्रमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिइसकेको छ । उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले कृष्णबहादुरको आदेशको विषयमा ‘राय’ पनि बुझाउन उच्चले भनेको बताए । न्यायाधीश उप्रेतीले गिरीलाई छाड्ने आदेश गर्नु पर्ने ‘राय’ उच्चमा बुझाउनु पर्ने हुन्छ । सरकारी वकिल कार्यालयले थुनामा राख्न पर्याप्त प्रमाण हुँदाहुँदै कृष्णबहादुर धरौटीमा छाड्ने आदेश भएको भन्दै उक्त आदेश बदर गरी उनलाई थुनामा राखेर पुर्पक्ष गर्न माग गर्दै बिहीबार उच्चमा निवेदन दिएको थियो । जनकपुर रहदाँ संचारउद्यमी अरुण सिंघनीया हत्याकाण्डमा संलग्नलाई उन्मुक्ति दिने काम पनि उनै उप्रेतीले गरेका थिए । पछिल्लो पटक यथेष्ठ प्रमाण हुँदा हुँदै कृष्णदासलाई पनि धरौटीमा रिह ागर्ने आदेश गरेसंगै न्यायधिश उप्रेती फेरी विवादमा मुछिएका छन् । उनले यसअघि विभिन्न जिल्लामा रहदा गरेका विवादित फैसलाहरुका बारेमा समेत संचारमाध्यममा समाचारहरु प्रतिदिन आइरहेका छन् ।