झापा : दक्षिणी झापाको चारकोसे जङ्गलका रैथाने हात्ती नियन्त्रण गर्न ३७ किलोमिटर क्षेत्रभित्र सौर्य विद्युतीय तारबार जडान सम्पन्न भएको छ । कचनकवल, हल्दिवारी, बाह्रदशी र भद्रपुरको दक्षिणी वडाका स्थानीयवासी हात्तीको समस्याबाट मुक्त भएका छन् ।

चारकोसे जङ्गलका ११ वटा हात्तीबाट यस क्षेत्रका स्थानीयवासी केही वर्षअघिदेखि पीडित हुँदै आएका थिए । सांसद राजेन्द्रकुमार लिङ्देनको पहलमा प्रकृति संरक्षण कोष र सरकारको सहकार्यमा रु चार करोड ७४ लाखको लागतमा सौर्य तारबार गरेपछि स्थानीयवासी हात्तीको समस्याबाट मुक्त भएका हुन् ।

सौर्य तारबार ललितपुरको न्यू क्रिएशन इम्पेक्स प्रालिले भारतको फेन्ज गार्ड नामक कम्पनीसँग सहकार्य गरेर लगाइएको जिल्ला डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । छ हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएको चारकोसे वनभित्र २२ सामुदायिक वन रहेका छन् । जहाँ लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेका सालकसहित जङ्गली हात्तीको समेत भरपर्दो बासस्थान रहेको यहाँ दुर्लभ पशुपक्षी, मृग, हरिण, बँदेल, अजिङ्गर, बाँदर खुलारूपमा देख्न सकिन्छ ।

चारकोसे जङ्गलमा विद्युतीय तारबार गरेसँगै झापा क्षेत्र नं ३ का सांसद लिङ्देनसहित प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतम, डिभिजनल वन अधिकृत घिमिरे, भारतको चेन्नाइस्थित फेन्ज गार्ड नामक कम्पनीका विशेषज्ञ जर्ज, स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी सम्मिलित टोलीले सौर्य तारबारको शनिबार स्थलगत अनुगमन गर्नुभएको थियो ।

अनुगमनका क्रममा भुतेनी र अन्धुवा खोलामा थप विद्युतीय तारबार आवश्यक रहेको स्थानीयवासीले माग समेत गर्नुभएको थियो । खोलामा विद्युतीय तारबार नगरेका कारण खोलालाई क्षेत्र बनाएर जङ्गली हात्ती गाउँ पस्ने गरेको र भद्रपुर क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीयवासीको गुनासो गर्नुभयो ।

आर्थिक वर्ष २०७६÷७७ मा विशाल सामुदायिक वनबाट कमलधाप, मायालु वन हुँदै भेलागढीसम्म विद्युतीय तारबार गर्ने कार्यक्रम रहेको वन अधिकृत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार १५ किलोमिटर क्षेत्रफलभित्र सर्भेको काम भइरहेको छ । आर्थिक वर्षभित्र रु दुई करोडको लागतमा काम हुने भएको छ । करीब २० किलोमिटर क्षेत्रफलभित्र सौर्य तारबार गर्न सके जङ्गली हात्ती जङ्गलमै थुनिने बताइन्छ ।
उष्ण प्रदेशीय वनमा पाइने सबै वनस्पति पाइने चारकोसे जङ्गलभित्र लेउदेखि झ्याउसम्मका वनस्पति पाइने हुँदा यो वन जैविक विविधताले समेत भरिपूर्ण छ । यहाँ स–साना पहाड भएकाले पनि दक्षिणबाट उत्तरतर्फ पानी बग्ने गरेको र जरुवा पानीको भरपर्दो स्रोत पाउन सकिने जिल्ला वन कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो ।