कोही कसरी रहन्छ 

— एक्लै ?

ठडिँदै–ठडिँदै गएका छन्
एकपछि अर्को गर्दै
सिमेण्टेड मरुभुमिहरु सहरमा
देखिन छाड्दै गएका छन्
हरिया अग्र्यानिक जङ्गलहरु आँखाबाट
देखिन छाड्दै गएका छन् नीला–नीला
सेता बगुल्लाहरु कावा खाइरहने ती डाँडाहरु
तिनीहरु त रहन्छ सधैँ मनमा कतै

कोही कसरी रहन्छ
— एक्लै ?

गल्लीको कुनामा थियो बुढो काभ्रा
जहा हुन्थे थुप्रै रङ्गीबिरङ्गी पुतलीहरु
खेल्थे तेलकासा, डण्डीबियो र लठ्ठी सुङ्ने खेलहरु
पुतलीहरुसँगै काभ्राका हाँगाबिङ्गाहरु पनि
एकाएक हराए दन्त्यकथाको राजकुमारीजस्तो
गल्लीको कुनाबाट काभ्रा र ती सबै खेलहरु
तिनका यादहरु त छन् सधैँ मनमा कतै

कोही कसरी रहन्छ
— एक्लै ?

गोरेटो थियो यतैकतै
जो पुर्याउथ्यो इन्द्रेणी भूई झर्ने चउरसम्म
खेल्थे सातवटा रङ्गहरु एक्कैजस्तो भई दिन–दिनभरि
हुन्थे दिन पनि मिनेट र निमेषजस्तो
हुन्थे हफ्ता, महिना र वर्ष पनि दिनजस्तो
चउरमा छन् अचेल मल्टीस्टोरी कम्प्लेक्सहरु
र उंघेर बसिरहेको नगरपालिकाको थोत्रो सभागृह
तिनको सम्झना पनि त छँदैछ सधैँ मनमा कतै

खोलाहरु खुम्च्याएर घरहरु बनायौ त्यही पनि साँगुरा–साँगुरा
कुलाहरु थुनेर कुराहरु बनायौँ त्यही पनि ठूला–ठूला

यसरी यी सबै सबै सबैहरुलाई
गुमाउँदै जाने हो भने त
हामी ‘एक्लै‘ पनि त रहन सक्दैनौँ
संसारमा......

के यति सानो कुरा थाहा छ हामीलाई ?