इटहरीः पठाउँदैछु अन्तिम खाम मलाई माफ गर

हुन सकिनँ तिम्रो राम मलाई माफ गर

डोली चढिजाऊ तिमी अर्कै खसम खोजी
म त हिँडे चार धाम मलाई माफ गर

यस्ता सुन्दर गजलका सेर लेख्ने जीबी गजलको चिनारी भने उनैका शब्दमा ‘एक औसत गजल’ले चिनायो । उनको ‘आम्मामा’ रदिफ भएको गजल खुब चल्यो । चार सेरको आम्मामा गजलले १३ वर्षदेखि लगातार पूर्वको इटहरीबाट गजल लेख्दै आएका जीबी गजलको चर्चा चुलियो ।

अरे ओठमा लाली आम्मामा
सबैभन्दा काली आम्मामा

नचिनेर यो मन हैरान थियो
आफ्नै दाइकी साली आम्मामा

झुक्याई गाला करप्पै पार्यौ
तिमी यस्ती जाली आम्मामा

अघि र पछि लाला र बाबा
तर सिँउदो खाली आम्मामा

२०६२ सालताका गजल लेख्न शुरु गरेका जीबी गजलले आम्मामा गजल प्लस टुमा भएको एउटा कार्यक्रममा सुनाउन २०६४ सालमा लेखेका थिए ।
‘मैले इटहरीको जनता बहुमुखी क्याम्पसको प्लस टुका विद्यार्थीहरूको एक कार्यक्रममा प्लस टु स्तरका विद्यार्थीले बुझून् भनेर यो गजल लेखेको थिएँ’, आम्मामा गजलको प्रथम वाचन सम्झँदै उनी भन्छन्, ‘तर यो धेरैले रुचाए । पछिपछि त मलाई आम्मामा गजलबाट मात्रै चिन्न थाले ।’


यसरी गंगाबहादुरले थर हटाएर गजल राखे
उत्तरी मोरङको केराबारी गाँउपालिकाको फाइबामा स्कुले जीवन बिताएका जीबी गजलको स्कुलको नाम गंगाबहादुर खड्का हो । उनको नागरिकताको नाम पनि यही छ । राजनीति र साहित्यमा भने उनी अहिले जीबी गजल भनेर परिचित छन् ।
गंगाबहादुर खड्काको न्वारान भएर जीबी गजल नाम कसरी रह्यो ? नयाँ नाममा पनि गजलकै साइनो छ । गंगाबहादुर खड्काको नामै परिचित हुँदा उनी माध्यमिक शिक्षा पढ्दा रेडियो नेपालको धनकुटा प्रशारण सुन्थे ।
रेडियो नेपालको एक साहित्यिक कार्यक्रममा आउने गजलले उनलाई ताने । पछि उनले विभिन्न साहित्यिक हवाइ पत्रिका पढ्न थाले । त्यसैगरी उनले गजललाइ प्रेम गरे । गजल सिर्जना गरे ।

गजललाई प्रेम यति गरे कि उनले आफ्नो परिचय नै गजलसँगै दिन चाहे । उनले यसको लागि नामको पछाडि रहेको थर हटाए । अनि गजल जोडे । गंगाबहादुर नामको गंगाबाट अङ्ग्रेजीको ‘जी’ निकाले र बहादुरबाट ‘बी’ निकाले । र बन्यो नयाँ नाम जीबी गजल ।

राजनीतिक लाइनको गजलबाट प्रेमिल लाइनमा
उनी राजनीतिक प्राणी हुन् । उनको गजलको पहिलो सार्वजनिक वाचन पनि २०६२ सालको आन्दोलनमा तत्कालीन राजा विरुद्धका गजलका सेरहरु थिए । आज उनी ती गजलका सेरहरु सम्झँदैनन । तर, सम्झन्छन् उनी राजनीतिक लाइनका गजलबाट प्रेमिल लाइनका गजल लेख्न थालेको ।

‘मैले राजनीतिक फोरममा गजल वाचन गरेर होला पहिले राजनीतिक लाइनमा धेरै लखियो’, हाल नेकपा सुनसरी क्षेत्र नम्बर ३ का नेता तथा अनेरास्ववियु सुनसरी अध्यक्ष गजल भन्छन्, ‘गजलको उत्पत्ति प्रेमसँगै भएकाले मलाई पनि क्रमशः प्रेमिल लाइनले तान्न थाल्यो ।’
यी २ सेर गजल धेरै मञ्चमा सुनाएर अत्यधिक ताली पाए । अर्को प्रेमिल गजलका केही सेर यस्ता छन्ः

आकाश कस्तो हुन्छ चरीलाई थाहा छ
को पापी को धर्मी हरिलाई थाहा छ

कुरूप छु भनेर कोही नरोए हुन्छ अब
सुन्दर हुनुको पीडा परीलाई थाहा छ


‘प्रेमिल गजल वाचनपछि कहिलेकाहीँ प्रेम प्रस्ताव आए’
उनी अधिकांश प्रेमिल गजल सुनाउँछन् । हालसम्म उनले लेखेका सय गजलमा ८० बढी गजल प्रेमिल छन् । यो प्रेमिल गजल र अन्य गजल वाचन पछिको ‘फिडब्व्याक’ फरक फरक हुने उनको अनुभव छ ।

उनी भन्छन्, ‘आन्दोलनका गजल र देशभक्तिका गजल मान्छेले नोटिस मात्रै गर्छन् तर, प्रेमिल गजलले धेरै फेसबुक रिक्वेस्ट बढाउँछन् ।’

प्रेमिल गजल सुनाएर माहोल चम्केपछि आफूलाई दर्जन बढी महिलाका फेसबुक रिक्वेस्ट आएको उनी बताउँछन् । गजल सुनाएकै आधारमा कोहीसँग प्रेम भने नबसेको गजलको भनाइ छ ।

‘प्रेमिल गजल लेख्ने पुरुष भएकाले महिलाको आक्कलझुक्कल फेसबुकमा अप्रत्यक्ष प्रेम प्रस्ताव आउँछ’, उमेरमा ३ दशक हाराहारी भएको बताउने अविवाहित गजल हाँस्दै भन्छन्, ‘महिला थिएँ भने झनै धेरै प्रस्ताव आउँथे होलान् । किनभने महिलाभन्दा प्रेम प्रस्तावको मामिलामा पुरुष अगाडि छन् ।’

यत्तिका उमेर र यत्तिका प्रेमिल गजल लेखनको प्रिय पराकम्पन बोकेका गजलको कतिसँग मायापिरती बस्यो ? धेरैसँग बस्यो होला । यो प्रश्नमा भने गजल एकछिन मौन रहे ।

र, उत्तरमा सुनाए आफ्नै गजलका दुई सेरः

यो जिन्दगी आँशुको खोलानाला होइन
अनि जिन्दगी चुँडिएको माला होइन

तिमीलाई मात्रै हृदयमा ठाउँ छ प्रिय
दुनियाँका लागि यो दिल धर्मशाला होइन