विराटनगरः विराट एक्स्पोमा बिहीबारदेखि मेला अवधिभर हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा छुटको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । 

हेलिकोप्टरबाट नगर परिक्रमा गर्दा छुटको व्यवस्था गरिएपछि हेलिकोप्टर चढ्नेहरूसमेत बढेका छन् । हेलिकोप्टरबाट सिटी टुर गर्दा प्रतिव्यक्ति ७ हजार ५ सय शुल्क लाग्ने गरेको थियो । छुटपछि भाडा घटेर ५ हजार ५ सय रुपैयाँमा झरेको छ । हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा निक्कै रमाइलो भएको यात्रुहरूले बताएका छन् । हेलिकोप्टरबाट सिटी टुरका लागि छुटको व्यवस्था गरिए पनि हलेसी र पाथिभरा जाँदा भने छुटको व्यवस्थता नगरिएको आयोजक समितिले जनाएको छ । एक्स्पोमा हेलिकोप्टर पनि आगन्तुकहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।
विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा उद्योगी, व्यवसायी र उपभोक्ता तीन पक्षले लाभ लिएका छन् । उद्योठ संगठनले आयोजना गरेको एक्स्पोमा आफ्नो उत्पादन र व्यापार व्यवसायीले राखेको स्टलबाट केबल व्यापारी मात्रैले लाभ लिएनन् कि उपभोक्ताले झन् धेरै लाभ लिएका छन् । एक्स्पोमा राखिएको चार पांग्रे सवारी साधनदेखि लुगाकपडा, दैनिक उपभोग्य वस्तुमा गरिएको छुटबाट उपभोक्ताले लाभ लिएका छन् । उद्योगी तथा व्यवासायीले आफ्नो उत्पादन प्रचार गर्ने र प्रत्यक्ष रूपमा उपभोक्तालाई उत्पादन गरिएको वस्तुको जानकारी दिँदै सस्तोभन्दा सस्तोमा सामग्री दिएको व्यापारीहरु बताउँछन् ।
एक्स्पोमा लुगाको स्टल राखेका श्यामकाजी थापाहरू यहाँबाट धेरै खुसी भएको बताए । ‘हामीले उपभोग्क्तालाई लुगा उद्योगकै दरमा दिँदै आएका छौं,’ उनले भने, ‘एक्स्पोबाट हामीले नगद लाभ नपाए पनि हाम्रो उत्पादनको प्रचारप्रसार धेरै भएको छ । त्यसबाट हामी धेरै सन्तष्टि र लाभ लिएका छौं ।’ हामी व्यवसायीलाई प्रत्यक्ष रूपमा फाइदा नहुँदा पनि खुसी भएका छौं । किनभने एक्स्पोमा ग्राहकलाई सन्तुष्टि दिन सक्यौं भने बजारमा हाम्रो उत्पादन खोजी खोजी प्रयोग गर्नुहुन्छ, थापाले भने । त्यस्तै अर्का जुत्ता व्यवसायी चेतन निरौला पनि एक्स्पोबाट धेरै खुसी भएको बताए । उनले भने हाम्रो जुत्ताको बजार थाहा पाउन पनि सहज भएको छ । जुत्ता हामीले बजार भाउ ५० प्रतिशतभन्दा धेरै सस्तोमा दिएका छौं । एक्स्पोबाट हामीले नाफा कमाउनेभन्दा पनि हाम्रो उत्पादन प्रत्यक्ष रुपमा उपभोक्तालाई जानकारी दिने र बाहिरी बजार विस्तार गर्न सहज हुनेछ । यहाँबाट हामीले विक्री गरेको सामानको गुणस्तरलगायतका कुरामा ध्यान दिए उहाँहरुले बजारमा हाम्रो उत्पादन खोज्नु हुन्छ भन्ने हामीलाई विश्वास लागेको छ, निरौलाले भने ।
दैनिक हजारौंका संख्यामा एक्स्पो अवलोकन गर्ने र खरिद गर्नेको भीड बढ्दै गएको आयोजकले जनाएका छन् । एक्स्पोमा विराटनगर–१ कि बाट आउनु भएको मन्जु भण्डारीले भन्नु भयो यस्तो खालको मेला नियमित भयो भने हामी उपभोग्क्तालाई सहज हुने थियो । बजारभन्दा सस्तोमा सामान किन्न पाउनु हाम्रालाई राम्रो कुरा हो । यस्तो सस्तो मेला वर्षमा दुई पटक लाग्ने हो भने हामी जस्ता सर्वसाधारणले धेरै फाइदा लिन सक्छौं ।
एक्स्पोमा अवलोकनकर्तालाई मनोरञ्जन दिन दैनिक साँझमा राष्ट्रिय तथा स्थानीय कलाकारले साँगीतिक माहोल जमाउने गरेका छन् । साँगीतिक माहोल तताउनका लागि शुक्रबार गायिका इन्दिरा जोशी आउने भएकी छन् । उनले आफ्नो विभिन्न चर्चित गायन प्रस्तुत गर्ने छिन् । एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले बिहीबार एक्स्पोको ३५ हजारभन्दा बढीले अवलोकन गर्नुका साथै ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बताए ।
एक्स्पोमा कानुनी मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत अन्य मन्त्री तथा नेताहरुले दैनिक अवलोकन गर्दै आएका छन् ।
फागनु १० गतेसम्म सञ्चालन हुने एक्स्पोको मुख्य प्रायोजक नोबेल मेडिकल कलेज रहेको छ भने ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैया“ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल एक्स्पोमा रहेको छ ।