धरानः स्थानीय औद्योगिक उत्पादन सहित कृषि उत्पादन प्रवद्र्धनका लागि भोलि अर्थात फागुन १५ देखि धरानमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
धरानस्थित पब्लिक हाइस्कुलको खेल मैदानमा १० दिन सम्म चल्ने मेलामा विशेषतः सस्तो दर रेटमा सामान किन्न पाइने आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घले जनाएको छ । औद्योगिक व्यापार मेला २०७६ का मूल संयोजक शिवराज श्रेष्ठका अनुसार जुत्ता–चप्पलदेखि लिएर अटोबाइल्स, औद्योगिक सामग्री, हस्तकला उद्योगबाट उत्पादित सामग्री, गार्मेन्ट तथा छालाजन्य वस्तु, श्रृङ्गार सामग्री, कृषि उत्पादन, घरेलु वस्तुको लगायतका सामग्री सस्तो दररेटमा किन्न पाइनेछ । पर्यटन, कृषि, सूचना, प्रविधि, कला, संस्कृति, शिक्षा तथा औद्योगिक व्यापार प्रदर्शनीका लागि मेला आयोजना हुन लागेको हो । मेलामा प्रदेश १ को पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्न विभिन्न टुर प्याकेज, साङ्गीतिक प्रस्तुति लगायतका कार्यक्रम पनि छन् । मेलामा राष्ट्रिय उद्योग व्यवसाय तथा बहुराष्ट्रिय कम्पनीहरू, हस्तकला उद्योगहरू, गार्मेन्ट छालाजन्य वस्तुहरू, बाल उद्यान तथा मौलिक नेपाली खाजाका परिकारहरू विशेष आकर्षण रहनेछन् ।
मेलाका प्रचारप्रसार संयोजक मानबहादुर विश्वकर्माले मेलामा उद्योग व्यवसाय, बहुराष्ट्रिय कम्पनी, कृषि पर्यटन, शिक्षा, स्वास्थ्य, वित्तिय संस्था, होटल व्यवसायी, घरेलु तथा साना उद्योग, सूचना प्रविधि, हस्तकला उद्योग, गार्मेन्ट तथा छालाजन्य वस्तु, श्रृङ्गार सामग्री, बाल उद्यान तथा मौलिक परिकारको प्रवद्र्धन हुने बताए । उनले कला संस्कृति, शिक्षा, औद्योगिक व्यापारका प्रवद्र्धन गरिने पनि बताए । मेलाको फागुन १५ गते ठीक ३ बजे सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन हुने सङ्घका वाणिज्य सचिव सीताराम आचार्यले जानकारी दिए ।
३५ लाखको खर्च योजना गरेको मेला अवधिभर करिब ५ करोडको कारोबार गर्ने र ५ लाख दर्शकले प्रत्यक्ष मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलामा धरान नगरस्तरीय लोकभाकामा नृत्य प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा धरानभरिका विद्यालयहरूले सहभागी जनाउन सक्नेछन् । विजेताले प्रथमले नगद ५० हजार, दोस्रोले नगद २५ हजार ५ सय ५१ रुपैयाँ र तेस्रोले १० हजार ५ सय ५१ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मेलामा दिउँसो ४ बजेसम्म प्रवेश निःशुल्क रहनेछ । दिउँसो ४ बजेपछि भने विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएकोले प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको मेलाका संयोजक श्रेष्ठले बताएका छन् । विद्यार्थीहरुको लागि भने प्रवेश शुल्क ३० रुपैयाँ तोकिएको छ । धरानका उद्योगी–व्यवसायीहरूको व्यापर प्रवर्धन गर्ने उद्देश्यले यस्तो मेला लगाउन लागिएको संयोजक श्रेष्ठ बताउँछन् । ‘यसअघि मेलाबारे अफवाह पनि फैलाएको पाइयो तर यो त्यस्तो मेला होइन’, उनले भने, ‘हामी पारदर्शी ढङ्गले नचुक्ने हिसाबले लागिरहेका छौं ।’