मेरो सानै देखि नर्स बन्ने सपना  थियो । अस्ट्रेलिया आइयो राम्रो सँग पढेर डिग्री हासिल गरी नर्स नि बनियो तर यतिमा मात्रै कहाँ रोकिन्थे र म । 

मेरो नर्स करीअर अघि बढ्दै एशोशिएट नर्स म्यानेजर  बन्न पुगे । आफ्नो प्रगतिसँग धेरै खुसी थिए म र मेरो परिवार । नहुनु पनि किन, एउटा सरकारी स्कुलमा पढेर विदेशको यूनिर्भसिटीबाट डिग्री हासिल गरेर म्यानेजर लेवलमा पुग्नु म र मेरो परिवारका लागि ठुलो उपलब्धी हो भन्ने लाग्छ मलाई ।
यहि समयमा आयो यो कोरोना भाइरस , जसले संसारलाइ नै हल्लाई रहेको छ । विश्वभरी ठुलै संख्यामा मानविय क्षति भईरहेको छ । कोरोनाकै विश्वव्यापी महामारीमा म आफु रहेको देश अस्ट्रेलिया  पनि अछुतो रहन सकेको छैन् । तर अस्ट्रेलिया  सरकारले समयमै ध्यान दिएका कारण अन्य देशहरुमा जस्तो संक्रमण फैलने र मृत्यु हुने नागरिकको संख्या ज्यादै कम छ ।
म मेरो पेशा अनुसार आफु कार्यरत हस्पिटलमा फ्रन्ट लाइन वर्करका  रुपमा प्रतिदिन कार्यरत रहि आएको छु । फेरी मेरो वार्ड रेस्पीरेटोरी वार्ड, कोरोनाको बिरामी यहि वार्डमा भर्ना गर्ने भयो । 
अस्पताल भर्ना भएका बिरामीलाइ केयर पुगे नपुगेको, उनिहरुको स्वास्थ्य स्थिति, टेस्ट रिपोर्ट के कस्तो आईरहेको छ ? त्यो नि बुझ्नु पर्ने, नयाँ तालिम र मेडिकल अपडेटको पनि जानकार रहनु पर्ने त मेरो जिम्बेबार नै हो । जस्तो सुकै अवस्थामा म मेरो पेशाका कारण मानविय सेवामा जिम्मेवार छु र बन्नु पनि पर्छ । र, पनि म  मान्छे न हुँ । जब आफु बसेको घरबाट सेवाका लागि अस्पताल जान्छु मेरो मनले सधै भगवान पुकार्ने गर्छ । हे भगवान कोरोना संक्रमित भएका विरामी नआउन् है । तर मैले काम गर्ने वडा नै रेस्पीरेटोरी वार्ड भएकाले कोरोना संक्रमितको शंका लागेका  विरामी नआउने कुरै भएन ।

91880020_10158282129449777_8220973240298766336_n
मलाई त मेरो  पेशाले फरक पर्दैन् तर घरमा भएका मेरा , ४ बर्षकी छोरी अनि , १७ महिनाको छोरा अनि मेरो श्रीमान, मेरो दाइलाइ मेरो पेशाको कारणले कोरोना आउने हो कि भन्ने कुराले मेरो मन हरदिन त्रसिद हुन्छ । मेरी ४ वर्ष कि छोरीले ११ बजे राति म डिउटीबाट आउदा  घरको ढोका खोल्दा ममी भनेर अंकमाल गर्न आउँदा मैले छोरी ममीको नजिक नआउ भनेर बाथरूम तिर दौड्न्छु । अनि सावरको पानीसँगै मेरा आँखाबाट आँसुका सावर पनि झर्छ । यो कुराले म  कयौ रात निदाउन सकिन  । र, पनि मेरो पेशा प्रतिको कर्तव्य पुरा गरि मानविय सेवाका लागि आफुले आफैलाई बलियो बनाएर आफुसंगै काम गर्ने अन्य नर्सहरुलाई सान्त्वना दिएको सम्झन्छु ।  म लगायतको मेरो टिमले सेवा गरेका बिरामीको सुधार देखेर आन्दित भएको मेरो र मेरा साथीहरुको खुसी भएको पल सम्झिन्छु । घरमा सबैलाइ म ठिक छु, काम ठिक छ भनेर सान्त्वना दिन्छु पनि ।
फेरी अर्को दिनको सिफ्टमा जाने समय आउछ मेरो मन ले एउटै कुरा सोच्छ आज कोरोनाको बिरामी होला कि न होला ?
यो त्रसित समय कहिले सकिएला ? यो कोरोनाले यो संसारलाइ कहिले मुक्ति देला ? जे भए पनि आफ्नो पेशा नर्स , फ्रन्टलाइन वर्कर भएकोमा मलाई धेरै खुसी पनि लाग्छ । धेरै बिरामीको जीवनमा सहयोग र उपचारमा थोरै भए नि आफ््नो योगदान दिन पाएकोमा म आफुलाई धन्य ठान्दछु । यहि बिचमा म जन्मिए हुर्केको देश नेपालमा पनि कोरोनाको संक्रमण फैलिन थालिसकेको छ । मलाई पनि मेरो देशमा यो विपत्तिका बेला मानविय सेवामा लाग्ने इच्छा भने नभएको होइन् । तर, म आफ्नो केही बाध्यताका कारण मेरो देशलाई हालको अवस्थामा योगदान दिन नपाउँदा मन भने खिन्न छ । कोरोनाले विश्वमै मानवजगतको ज्यान लिइरहेकाले आफु जहाँ जुन अवस्थामा भएपनि मानव जातिकै सेवामा लागिरहेकाले गर्वअनुभूति भने गरिरहेको छु । संसारको जुनै पनि ठाँउमा भएर यो कोरोना भाइरस संक्रमण समयमा फ्रन्टलाइन वर्करका रुपमा सहयोग गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा नमन गर्न चाहान्छु  । 
अन्त्यमा म नेपालमा रहनु हुने म जस्तै पेशामा संलग्न नर्सहरुलाई यो भन्न चाहान्छु कि आफ्नो पेशा प्रतिको कर्तव्य कहिले नभुलौं । हामीलाई भगवानले मानवसेवाकै लागि खटाएर पठाउनु भएको हो , त्यसकारण आत्मावल उच्च राखेर व्यक्तिगत सुरक्षा सामाग्री(पिपिई) लगायतका अन्य प्रयोग गर्नु पर्ने सामाग्रीको सहि ढंगले प्रयोग गरि मानवीय सेवामा लाग्न बिषेश अनुरोध गर्दछु । अष्ट्रेलियामा स्वास्थ्यकर्मी लगायत सबैको हाडवर्क , सरकारको विशेष सतर्कताका र जनताले सरकारलाई दिएको साथ कै कारण कोरोना संक्रमण बढ्न नसकेको हो भन्ने सबैमा जानकारी समेत गराउन चाहान्छु । अनि, कोरोना भाइरसको अहिलेसम्म स्वास्थ्य विज्ञानमा ठूला ठूला प्रगति गरेका राष्ट्रका वैज्ञानिकहरुले समेत औषधी पत्ता नलाएकाले यसको औषधी भनेकै लकडाउनको पूर्ण पालना नै हो । अनि, कोरोना संक्रमण अन्त्य भई लकडाउन खुलेपनि केही समय घरबाट बाहिर ननिस्कनु होला । विश्वमामा एक लाखबढीको ज्यान लिने कोरोना भाइरसबाट आफु नि बाँच्नु होला , अरुलाई नि बचाउनु होला भन्ने मेरो अनुरोध छ ।
मेलबोर्न, अस्ट्रेलिया