इटहरीः नोभल कोरोनाभाइरसका कारण एकएक गरी सबै राष्ट्रहरु बन्द हुने अवस्थामा पुगेका हुन् । यसरी विश्वव्यापी रुपमा फैलने खतराको संकेत देखिँदा देखिँदै पनि गैरजिम्मेवारी, वास्तविकता अस्वीकार गर्ने प्रवृत्ति र आवश्यक तयारीको अभावमा अधिकांश मुलुकहरुसँग अन्त्यमा लकडाउन बाहेकको विकल्प रहेन ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा हामी धेरै माथि पुगिसकेको भएपनि शुरुवाती हप्ताहरुमा प्रकोप फैलिँनासाथ हामीले कुनै पाठ सिक्न सकेनौँ जसबेला यसलाई नियन्त्रण गर्ने र रोक्न सक्ने सबैभन्दा प्रबल सम्भावना थियो । यस्तोमा अब मात्र विश्वभरका सरकारहरु गम्भीरतापूर्वक फैलावटको दर नियन्त्रण गर्न र मृत्युको सङ्ख्या थप बढ्न नदिन पूरा कोशिश गरिरहेका छन् । यसमा बिस्तारै लकडाउन खोल्नतर्फ लागिरहेका देशहरुले यी मुलुकबाट केही पाठ सिक्नैपर्ने देखिएको छ स्
कोभिड–१९ को केन्द्र चीनबाट केबल १८० किलोमिटरको दुरीमा रहेको ताइवानमा यो महामारी अत्यन्तै विनाशकारी साबित हुन सक्थ्यो । जनवरीको अन्त्यसममा पनि यो टापुमा संक्रमकहरुको सङ्ख्या दोस्रो सबैभन्दा ठूलो थियो । तर अहिले तुलनात्मक रुपमा हेर्दा २ करोड ४० लाखको जनसङ्ख्या रहेको ताइवानमा बिहीबारसम्म ३९५ संक्रमित छन् भने ६ जनाको मृत्यु भएको छ । यसमा अनौठो कुरा के भने, ताइवानले लकडाउन, स्कुल बन्द गराउनेलगायत कुनै कठोर नीति नअपनाइकन यत्तिको उपलब्धी हासिल गरेको छ ।

अहिले विश्वमा सबैभन्दा बढी प्रभावित, अमेरिकासँग तुलना गर्दा त्यसले ताइवान जसरी कोरोना नियन्त्रण गर्न सकेको भए, जनसङ्ख्याको हिसाबले मृत्यु हुनेको सङ्ख्या ८३ मा सीमित रहने थियो । यसरी ताइवानले प्रभावकारी रुपमा यो लडाइँ लड्न सक्नुका पछाडिको कारण यसको पूर्ण तयारी, तिव्रता, केन्द्रीय निर्देशन र संक्रमितहरु सम्पर्कमा आएकामाथि अधिक कडा निगरानी रहेको छ ।

त्यसैले विश्वले ताइवानबाट सिक्नैपर्ने एउटा ठूलो पाठ हो तयारी । वास्तवमा २००३ को सार्स प्रकोपका कारण पनि यसले योपटक सबै आवश्यक सावधानी अपनाएको हो ।

त्यतिबेला सार्सले ताइवानमा १८१ को ज्यान लिएको थियो जसको नतिजा स्वरुप त्यहाँ विशिष्ट केन्द्रीय महामारी कमान्ड सेन्टरको स्थापना गरियो । यसले महामारीको अवस्थामा उपयुक्त कदम उठाउने काम गर्दछ जुन गत जनवरी २०, पहिलो संक्रमण देखा पर्नुको एक दिन अगाडि देखि नै सञ्चालनमा ल्याइएको थियो ।

यसले पनि ताइवानको भाइरस भन्दा अगाडि रहने नीति स्पष्ट पार्दछ ।

महामारीको सामना गर्ने केन्द्र पहिले नै स्थापित गराइएको हुँदा कुनै कानुनी झन्झटमा नलागी सो विभागले लगत्तै काम सुरु गर्न पायो र सबै सावधानीका उपायहरु तुरुन्तै कार्यान्वयन भयो ।

‘जर्नल अफ अमेरिकन मेडिकल असोसिएसन’ का अनुसार यसपछिको तीन हप्ताभित्र नै ताइवानले १२० उपयुक्त नीति अगाडि बढाइसकेको थियो ।

ताइवानले सिकाउने अर्को पाठ भनेको तीव्र गति अपनाउनु हो । विश्व स्वास्थ्य संगठनले कोरोनाको विश्वव्यापी खतरा सार्वजनिक गराउनुभन्दा तीन हप्ता अगाडि नै ताइवानका अधिकारीहरुले बाहिरबाट आउनेहरुको तापमान लिन र स्वास्थ्य परीक्षण गर्न थालिसकेका थिए ।

पहिलो संक्रमण देखिएको एक हप्तामै ताइवानले सरकारद्वारा स्थापित फोनमार्फत क्वारेन्टाइनमा बसेका मानिसहरुको निगरानी गरिरहेको थियो भने यात्रा प्रतिबन्ध घोषणा गरेको थियो ।

त्यसैगरी ताइवानबाट हामीले परीक्षण, निगरानी र क्वारेन्टाइन सम्बन्धी पनि धेरै कुरा सिक्न सक्छौँ ।

ताइवानले सुरुवातदेखि नै संक्रमितको सम्पर्कमा आएकाहरुमाथि विशेष निगरानी राखेर सम्पूर्णलाई क्वारेन्टाइनमा राखेको हो जसमा समुद्री जहाजबाट झर्ने प्रत्येक यात्रुको पनि स्वास्थ्य परीक्षण गरिएको थियो ।

यता संवेदनशील समूहहरुलाई सचेत गराउन ताइवानले राष्ट्रिय स्वास्थ्य बीमाको डाटालाई सिमा अध्यागमन विभागसँगको मिलाएर काम गर्यो ।

यसमा कुनैपनि व्यक्तिले स्वासप्रस्वासमा समस्याको लक्षण लिएर स्वास्थ्यकर्मीकहाँ गएमा सरकारकहाँ सो रेकर्ड तुरुन्तै पुग्थ्यो र यसले पनि बिरामी अनि संक्रमित पत्ता लगाउन धेरै ठूलो मद्दत गरेको हो ।

यसैगरी ताइवानले बाहिरबाट आइ, ‘होम क्वारेन्टाइनमा बसेका ५५ हजार मानिसलाई अनिवार्य रुपमा भित्र राख्न ‘डिजिटल फेन्सिङ’ को पनि प्रयोग गरेको थियो, जसमा कुनै पनि एउटा मान्छे घरबाट धेरै टाढा गएमा अलार्म बज्ने गर्दथ्यो ।

समाचार तयार पार्दासम्म कोरोना संक्रमितको सङ्ख्या विश्वभर २० लाख बढी छ भने मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघेको छ । यस्तो अवस्थामा सबैतिर गम्भीर समस्या देखा नपरेसम्म यसको सहजै परीक्षण गराउनु करिब असम्भव मानिएको छ ।

तर आइसल्यान्डमा भने त्यस्तो स्थिति छैन । त्यहाँ संक्रमण सङ्ख्या नियन्त्रण गर्न सक्नु पछाडिको मुख्य कारण भनेकै परीक्षणको सहज व्यवस्था हो ।

हालसम्म त्यहाँ १,७२७ संक्रमित छन् भने ८ जनाको मृत्यु भएको छ । यसरी आइसल्यान्डले पनि ताइवान जसरी नै भाइरससँग लड्न तीव्र रुपमा लागिपरेकाले यत्तिको नतिजा हासिल गर्न सकेको हो ।

र अझैपनि त्यहाँ २ मिटरको दुरीमा २० जनासम्मको समूहमा बस्न दिइएको छ भने युनिभर्सिटी, स्कुल र नर्सरीहरु सबै खुला छन् ।

यसबारे आइसल्यान्डका प्रमुख इपिडेमिओलोजिस्ट थोरोल्फर गन्दनेसनले सिएनएनसँग भनेका छन्, “हामीले पहिलो संक्रमण देखिए लगत्तै अर्थात सुरुवातदेखि नै योजना अनुरुप काम गरेका हौँ । हाम्रो नीति भनेकै प्रत्येक व्यक्तिको उपचार र परीक्षण प्रक्रियालाई आक्रामक ढङ्गमा अघि बढाउनु, तिनलाई आइसोलेसनमा राख्नु र सम्पर्कमा आएकाहरुको पत्ता लगाउन तीव्ररुपमा काम गर्नु थियो । र यसमा ६० प्रतिशत नयाँ संक्रमित क्वारेन्टाइनमा पहिले नै राखिएकाहरु परेको हुँदा हाम्रो सो तरिका प्रभावकारी रहेको यसले पनि देखाउँछ ।”

यसरी आइसल्यान्डले यो हप्ताको अन्त्यसम्ममा मात्र आफ्नो १० प्रतिशत जनसङ्ख्याको परीक्षण गराइसकेको छ । यसले लभगभ सबै नागरिकलाई टेस्ट गराउने लक्ष्य राखेको छ । केही समय अगाडि मात्र आइसल्यान्डको एउटा ल्याबले ५० प्रतिशत पोजिटिभ देखिएकाहरुमा कुनै लक्षण नभएको पत्ता लगाएको थियो । यसकारण पनि कोरोनाको रोकथाम झन चुनौतिमय बन्न पुगेको छ ।

यता दक्षिण कोरिया पनि अधिक प्रभावित मुलुकमा पर्दछ । तर अहिले त्यहाँ दैनिक तीसवटा सम्म नयाँ संक्रमणहरु फेला परिरहेका छन् भने त्यही समयमा अमेरिका र बेलायतमा चाहिँ दैनिक ५ हजारदेखि २० हजारसम्म नयाँ बिरामी थपिरहेका छन् । यसरी दक्षिण कोरियाको सफलताको रहस्य पनि यसको व्यापक टेस्ट नीति भएको डाक्टर अम जुङ सिक बताउँछन् ।

यसमा प्रारम्भिक परीक्षण, सुरुवातदेखि नै क्वारेन्टाइनमा कडाइ र तिव्र उपचारको व्यवस्था प्रभावकारी साबित भएको उनले बताए । यसअघि विश्व स्वास्थ्य संगठनले पनि विश्वभरका सबै सरकारलाई केबल ‘टेस्ट टेस्ट अनि टेस्ट’ मा ध्यान दिन आग्रह गरेको थियो जुन तरिका दक्षिण कोरियाले हप्तौँ अगाडिदेखि अपनाउँदै आएको थियो ।

दक्षिण कोरियाले पाँच लाख भन्दा धेरै नागरिकमा परीक्षण गरिसकेको छ जुन ‘वल्र्ड पर क्यापिटा’ का हिसाबले विश्वकै उच्च सङ्ख्या हो । यसरी अहिले थुप्रै देशहरुलाई अहिले दैनिक हजारौँ परीक्षण गर्नुपर्दा अधिक कठिन भइरहेको छ जस्तै बेलायतमा मानिसहरुले परीक्षणको सामग्री मेल–अर्डर गर्न थालेका हुन् ।

दक्षिण कोरिया प्राविधिक रुपमा सबैभन्दा विकसित देश भएकाले पनि धेरै कुरामा सहज भएको हो । ताइवान, दक्षिण कोरिया र आइसल्यान्ड जसरी जर्मनीले पनि कोरोना भाइरस विरुद्ध व्यापक टेस्टको नीति अपनाएको हो । पहिलो मृत्यु खबर गरिनु अगाडि नै जर्मनीले धेरै तयारी पूरा गरिसकेको थियो ।

यस्तोमा संक्रमित सङ्ख्याका हिसाबले तुलनात्मक रुपमा मृतकहरु कम छन् । इटलीमा जसरी जर्मनीका स्वास्थ्य संस्थाहरुका लागि बिरामीको भार समस्या बनेको थिएन । नराम्ररी प्रभावित मुलुकहरु मध्ये जर्मनीले संक्रमणको रोकथाममा उल्लेखनीय सफलता हासिल गर्नु पछाडिको कारण यही भएको बताइएको छ । सीएनएनबाट