मेरो घर यो भन्दै हिड्थें ।
मूल्य म त्यसको गन्दै हिड्थें ।।
सोही घरमा कैदी बन्दा ।
पीर के होला लौ यो भन्दा ।।१।।
कुर्छु बराण्डा बाहिर हेरी ।
डुल्छु बैठक कोठा फेरि ।।
भान्छा पस्दछु, खाना खान्छु ।
जागीर ठानी सुत्नै जान्छु ।।२।।
फेरि क्रमैले सोही गर्छु ।
लाग्छ म पागल होई मर्छु ।।
डुल्दै हिड्थें भ्रमरा जस्तो ।
जीवन भो यो जमरा जस्तो ।।३।।
निस्के बाहिर गोडा सारी ।
गोद्छ पुलिस्ले लादी पारी ।।
दैवले कस्तो शेखी झार्यो ।
भुसुनासंग यो दुनियां हार्यो ।।४।।
चामल हाल्छौं थैलो हेरी ।
कति दिन पुग्ला भन्दै फेरि ।।
तर्कारीको जातै छैन ।
फल्फूलसंगको नातै छैन ।।५।।
प्याज चपाई मूला टोक्थें ।
खुर्सानीको ढिंडी ठोक्थें ।।
नून छरेको खाना खाई ।
बस्छु हरिको लीला गाई ।।६।।
टिभी हेर्यो हल्ला खाली ।
एकार्कामा गर्छन् गाली ।।
बुझ्नु न सुझ्नु पिट्छन् ताली ।
फूलविनाका जम्मै माली ।।७।।
कुन पापीले रोग निकाल्यो ।
जेलमा सारा दुनियां हाल्यो ।।
रोगविनाको गाऊं छैन ।
मान्छे गाड्ने ठाऊं छैन ।।८।।
घरमै बन्दी होई बस्दा ।
मनको भित्री तहमा पस्दा ।।
घर नै जेल हो जस्तो लाग्यो ।
जङ्गल पस्ने मूड पो जाग्यो ।।९।।