इटहरीः धरानको धार्मिक पर्यटकीय स्थल विष्णुपादुकासम्म पुग्ने बाटोको सर्दु खोलामा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
संघीय मामिला सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त बजेटले बजेटले धरान ११ मंगलबारे स्थित धरानको २० नं. वडा बिष्णुपादुका जोड्ने सर्दु खोलाको पुल निर्माणको काम लकडाउनमा पनि धमाधम भईरहेकाले अन्तिम चरणमा पुगेको हो ।
संघीय सांसद जयकुमार राईका अनुसार यो पुल मन्त्रालयबाट प्राप्त ८ करोड ४० लाखको लागतमा निर्माण भइरहेको हो । पुल निर्माण कार्य अषाढ अगाडी नै सकिने संसाद राईले बताए । गत २०७४ सालमा कार्की बन्धु कन्ट्रकसनले ठेक्का पाएको पुलेको निर्माण लकडाउनमा पनि नरोकिएको कमपनिले जनाएको छ । सरकारले ठूलो आयोजनाहरु सूचारु राख्ने जनाए पछि नियमित काम भएको हो । यसको ठेक्का अवधि भने चैत महिनामा सकिएको हो ।
लकडाउनका कारण निर्माणको काम केही दिन रोकिएका कारण ठेक्का सम्झौता अवधिमा पुल निर्माणको कार्य नसकेको ठेकेदार कम्पनीको भनाई छ । विहीबार मात्रै उक्त पुलको संघीय सांसद राई, नेकपा जिल्ला सदस्य तथा धरान नगर इञ्चार्ज चोत्लुङ, नगर अध्यक्ष नारायण सुवेदी लगायतले अनुगमन समेत गरेका थिए ।
सर्दुखोलामा पुल नबन्दा धरानको धार्मिक पर्यटकीय स्थल विष्णुपादुका पुग्न आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समस्या हुदैं आएको थियो । यहाँसम्म पुग्न ट्याक्सीहरु संचालित छन् । बर्षा याममा यो स्थान जान नसकिने स्थानीयले बताए । अब पुल बनिसकेर संचालनमा आएपछि बर्षा याममा पनि सहजै बिष्णुपादुका पुग्न सकिने स्थानीयले बताए ।
पुल निर्माणपछि धरान–विष्णुपादुकका मन्दिर यात्रा सहज हुने नेकपा धरान अध्यक्ष नारायण सुवेदीले बताए । विष्णुपादुका अदुवा र बेसारको जोन पनि हो । पुल बने पछि यहाँका उत्पादन धरान बजारमा सहज रुपमा ल्याएर विक्रि गर्न सकिने नेकपा जिल्ला सदस्य चोत्लुङले बताए । पुल निर्माण पछि धनुकटाको आहाले, भोजपुरको गाउँसँग सिधासम्पर्क गर्न सहज हुने उनको भनाई छ ।