ताप्लेजुङः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागि प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् । आईतबार विहान आगलागि क्षेत्रको निरिक्षण पछि मन्त्री भट्टराईले आगलागि प्रभावित परिवारको पुर्नस्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह गरेका हुन् ।

आगलागिले क्षति पुगेकोमा दुख व्यक्त गर्दै मन्त्री भट्टराईले तीनै तहका सरकार र स्थानीय समुदायको सहयोगमा पुर्नस्थापना गर्ने आश्वासन दिए । ‘तपाईहरुको पुर्नस्थापनामा केन्द्र, प्रदेश र स्थानीय सरकार छ, साथै स्थानीय समुदाय सबै छन्, सबैको साथ सहयोग मिल्ने छ’–उनले भने । ताप्लेजुङ भौगोलिक हिसावले बाडि पहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा जोड दिए ।

पछिल्लो पटक सरकारले विपद् व्यवस्थापन सम्वन्धि लिएका नीति तथा प्रयासले यहाँको मात्रै नभई मुलुकभरकै यस्ता जोखिमका समस्या निराकरण हुनेमा विश्वास समेत व्यक्त गरे । यता छलफलका क्रममा आगलागि पीडितहरुको प्रतीनिधित्व गर्दै आगलागि पीडित यिगेन्द्र गुरुङले सरकारलाई बैंक तथा वित्तिय संस्थाबाट लिएको रिण मिनाहा गरिदिन आग्रह गरे ।

यसैबीच विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुखद भएको भन्दै यस प्रकारका घटनाको न्युनिकरणमा सबैले ध्यान दिनुपर्ने बताए । आफूहरुको रेकर्डमा समेत यो जिल्ला आगलागिको घटना हुनेमा अग्रस्थानमा रहेको उनले बताए ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगलागिबाट भएको क्षतिको विवरण पेश गर्दै स्थानीय स्तरबाट जुट्ने राहतका लागि प्रयास भईरहेको बताए । शुक्रबार भएको आगलागिले यहाँका साना ठुला गरि १० वटा घरमा क्षति पुगेको थियो भने २९ परिवार विस्थापित बनेकाछन् । यस्तै ७ करोड बढिको क्षति भएको अनुमान गरिएको छ ।