इटहरीः नेपाल र भारत दुवै देशमा हप्तौँदेखि जारी लकडाउनका कारण सीमावर्ती क्षेत्रको ‘रोटीबेटी’ दैनिकीमा असर पारिरहेको त्यस भेगका मानिसहरूले बताएका छन्।
दुई देशबीच खुला सीमा बन्द हुँदा तीर्थयात्रा र उपचारका लागि भारत गएका नेपालीहरू उतै अड्किएका छन् भने मामाघर आएका केटाकेटी यतै फसेका छन्।
रमजानका बेला दिनभर ब्रत बसेर बेलुका ब्रत तोड्ने इफ्तार कहिले भारत र कहिले नेपालका आफन्त मिलेर गर्ने चलन प्रभावित भएको छ।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल भारतको सिमाना करिब डेढ महिनादेखि बन्द छ।
सम्बन्ध
खुला सीमा तथा दुई मुलुकबीच ’रोटी(बेटी’को सम्बन्ध भएका कारण दुवै मुलुकका नागरिक एकअर्को मुलुकमा रोजीरोटी तथा पारिवारिक सम्बन्धका क्रममा बाक्लो आउजाउ गर्ने गर्छन्।
लकडाउनका कारण हाल उनीहरूको आफन्त भेटघाटदेखि वैवाहिक सम्बन्धसम्ममा प्रभाव परेको छ।
खासगरी नेपालको दक्षिणी भूभागसँग जोडिएका भारतीय भूमिका बासिन्दाबीच सदियौँदेखि रोजगारी, किनमेल, बिहेबारी, लेनदेन, अध्ययन, धर्मकर्म तथा मेलापातका साथै बसाइँसराइसँग समेत सम्बन्ध रहँदै आएको छ।
वीरगञ्जकी भाग्यमनी देवी डेढ महिनादेखि भारतमा बिहे भएर गएकी आफनो छोरी ज्वाइँलाई समेत भेट्न नपाएकोमा दुखेसो पोख्छिन्।
उनी भन्छिन् “हामी बिरामी परेको कुरा सुन्ने बित्तिकै छोरी(ज्वाइँ आईपुग्थे। उनीहरूलाई केही पर्दा वा भेट्न मात्रै भएपनि उता गइन्थ्यो। अहिले फोनको भर मात्रै भयो ।’’
मामाघर आएका बच्चाहरू लकडाउनका कारण यतै रहेको उनले बताइन्। लकडाउनले पारेको प्रभाव हरेकदिन महसुस हुनेगरेको लँगडी, पर्साका लालबाबु बानिया बताउँछन्।
उनी भन्छन् “पारिपट्टि सामान सस्तो पाइने भए पनि किनमेल गर्न जान पाएका छैनौँ।भारतमा रहेका मेरा आफन्तमध्ये तीन परिवारमा यता नेपालतर्फ बिहेबारीको मिति बैशाखमा तोकिएको थियो। तर हाल दुवैतर्फ आउजाउ बन्द भएको कारण बिहे रोक्नु परेको छ ।’’
परिवर्तन
अवस्था सामान्य भएको भए योबेला धेरैजना तीर्थयात्रामा जाने समय पनि हो। लालबाबु बानियाकै गाउँका तीर्थ यात्रामा गएका कैयौँ अहिले भारततर्फ फसेका छन्।
पर्सा ब्रह्मचोककी अन्जली कुमारी भने पारिपट्टिको सस्तो बजार जान नपाउँदा अहिले लकडाउनले झन् महङ्गो बनेको नेपालतर्फको बजारमै निर्भर रहनुपरेको बताउँछिन्। उनले सुनाइन्, “जोसँग फोन छ उनीहरूसँग कमसेकम फोनमा कुरा भएको छ तर जोसँग फोन समेत छैन उनीहरू के कस्तो अवस्थामा छन् केही थाहा छैन।’’
रमजान प्रभावित
हाल मुस्लिम समुदायको पवित्र पर्व रमजान चलिरहेको छ। यसबेला उनीहरू एक आपसमा सद्भाव प्रकट गर्दै आफन्तकोमा जाने र उनीहरूलाई आफ्नोमा बोलाउने गर्थे।
रमजामको बेला व्रत बसेर तोड्ने बेला साथमा खाने गर्ने गरेकोमा हाल भारतमा रहेका आफन्तको हालखबर समेत थाहा पाउन कठिन भएको उनीहरूको गुनासो छ। रोशनी खातुनले भनिन्, “एक महिनाको रोजापछि ईद पर्वका लागि नयाँ लुगाफाटा र सामान खरिद गर्न यसपटक नपाइने भयो जस्तो छ।’’
पानीटङ्कीकी सोम्या चौरसियाका बुवाआमा उपचार गराउन भारतको बनारस पुगेको बेला फर्किनुभन्दा एक दिन अगाडि अचानक भएको लकडाउनका कारण त्यहीँ फसेका छन्।
लकडाउनको अवधि जति बढ्दै जान्छ उनको चिन्ता समेत थपिँदै मात्र गएको छ।विश्लेषक चन्द्रकिशोरका भनाइमा लकडाउनले दुवैतर्फको सामाजिक जीवनका अनेकौँ पक्षमा प्रभाव पारेको छ।
“म स्वयम्ले भारतमा रहेका मामा बित्दा सम्मान प्रकट गर्न जान नपाएको पीडा झेलेँ,” उनले भने।
“अहिले धानको बीउ छर्ने बेला भएको र बीउ भारततर्फबाट नै ल्याउने हुँदा किसान समेत मर्कामा परेको तथा दैनिकी नै उल्टोपाल्टो भएको अवस्था आएको छ।’’
खेतमा काम गर्न समेत दैनिक रुपमा मानिसहरू यताउता आउने र पशुचौपाया समेत चर्दाचर्दै एकअर्काको देशमा पुग्ने सिमानाको परिवेशलाई काठमाण्डू र दिल्लीमा गरिएको लकडाउन जसरी सीमा नाकामा सम्भव नहुने विज्ञहरूको भनाइ पाइन्छ । बीबीसी