धरान /  पर्यटनको विकास र प्रवद्र्धन गर्ने सरकारी निकाय नेपाल पर्यटन बोर्डले पूर्वलाई बेवास्ता गरेको गुनासो पूर्वेली पर्यटन व्यवसायी तथा पर्यटनकर्मीहरूले गरिरहन्थे । पर्यटन बोर्ड चितवन, पोखरा, काठमाडौं, लुम्बिनीलगायतका क्षेत्रमा मात्र बढी केन्द्रित थियो ।
अहिले भने पूर्वका पर्यटनकर्मीहरू बोर्डसँग सन्तुष्ट हुनुका साथै निकै उत्साहित पनि बनेका छन् । यसको मुख्य कारण हो, बिहीबारदेखि धरानमा शुरु भएको इष्ट टुरिजम मार्ट २०१८ । बोर्डले पूर्वलाई प्राथमिकता दिएर मार्ट आयोजना गरेको भन्दै पर्यटनकर्मी बासुदेव बराल भन्छन्, ‘यो भन्दा अघि बोर्डले पूर्वलाई प्राथमिकता दिएकै थिएन । यो मार्टले गर्दा अब पूर्वका पर्यटन व्यवसायी तयार छन्, हामी सक्रिय छौं भन्ने देखायौं । हामी उत्साहित भएका छौं ।’ उनका अनुसार अहिलेसम्म पर्यटकहरू बिनाप्याकेज पूर्वमा आइरहेका थिए । अब प्याकेजमा किनेर आउने प्रचुर सम्भावना रहेको भन्दै पर्यटन व्यवसायीहरू उत्साहित भएको उनको धारणा थियो ।
तीन दिने मार्टमा भारत, चीन, बंगलादेश र भुटानबाट पर्यटन व्यवसायीहरू सहभागी हुने बताइएको छ । आगन्तुक विदेशी पर्यटन व्यवसायीहरूलाई प्रदेश १ का पर्यटन व्यवसायीहरूले पर्यटकीय गन्तव्यहरूको प्याकेजसँगै सेवा सुविधाबारे ‘कन्भिन्स’ गरेर पर्यटक ल्याउन प्रेरित गर्ने मार्ट आयोजकको भनाइ छ । यसले दार्जिलिङ, सिक्किम र भुटान गइरहेका पर्यटकहरूको गन्तव्य पूर्वी नेपाल हुने अपेक्षा पर्यटक व्यवसायीहरूको छ । ‘मार्टमा आमन्त्रित विदेशका पर्यटन व्यवसायी र काठमाडौंका व्यावसायीहरूलाई पूर्वमा पनि यी गन्तव्यहरू छन्, र यसको प्याकेज यस्तो छ, यतिमा घुमाउन सकिन्छ भनेर किनबेच गर्ने हो । हामीले ‘कन्भिन्स’ गराएर विदेशी व्यवसायीहरूलाई अब पूर्वमा पर्यटक ल्याउनुस् भन्ने हो,’ मार्टका प्रवक्तासमेत रहेका बरालले भने ।
बिहीबार एक समारोहबीच मार्टको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासमा पर्यटनलाई प्राथमिकता दिइने बताए । प्रदेशको पर्यटकीय गन्तव्यहरूको पहिचान गरेर सञ्चार, विद्युत, सडकलगायतको आवश्यक पूर्वाधार विकास गर्ने मुख्यमन्त्री राईको भनाई थियो । ‘प्रदेश १ को समृद्धि र विकास भनेकै पर्यटनबाट हो, त्यसैले पर्यटन विकासका लागि प्रदेश सरकारले उच्च प्राथमिकता राखेर काम गर्छ’, उनले भने, ‘सबै प्रकारको ‘कनेक्टिभिटी’ गन्तव्यहरूसम्म पु¥याउँछौं ।’
विराटनगरको विमानस्थललाई क्षेत्रीयस्तरको बनाउने तयारी भइरहेको खुलाउँदै मुख्यमन्त्री राईले विदेशी पर्यटकहरूलाई यही प्रदेशबाट माउण्टेन फ्लाइट उडाउन सकिने बताए । प्रत्येक जिल्लामा एयरपोर्ट र स्थानीय तहमा हेलिप्याड बनाउने पनि उनको भनाइ थियो । प्रदेश नम्बर १ का पर्यटन मन्त्री जगदीश कुसियतले भारतको विहार, बंगाल र सिक्किमका पर्यटकलाई भित्र्याउन सक्दा मात्र पनि प्रदेश १ को कायापलट हुन सक्ने बताए । प्रदेश सरकारले विभिन्न कार्यक्रम र योजना बनाएर विकास गर्ने उनले बताए ।
कार्यक्रममा प्रदेश सभामुख प्रदीप भण्डारी, पर्यटन बोर्डका सिनियर निर्देशक नन्दनी थापा, सिलगुडीका ग्रामीण पर्यटन अभियन्ता ज्योति बासु, धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले आफ्ना धारणा राखेका थिए ।