इटहरीः प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथग्रहण गरेको भोलिपल्टै मन्त्री जगदीशप्रसाद कुसियतले भने, ‘अब विराटनगरबाटै माउन्टेन फ्लाइट र अन अराइभल भिसा हुनेछ ।’

मन्त्री कुसियतको यो कुरामा धेरैले खिल्ली गरे । थोरैले मात्रै सामाजिक सञ्जालमा प्रशंसा गरे । अन्ततः विराटनगरमा अध्यागमन कार्यालय बन्ने भएको छ । अध्यागमन कार्यालय बनेपछि विराटनगरमै अन अराइभल भिसा दिएर विदेशी पर्यटक तान्ने कुसियतको भनाइ पूरा हुन लागेको हो । विराटनगर र पशुपतिनगरमा अध्यागमन कार्यालय खुल्न लागेकाले यस्तो भएको हो ।

असोजपछि विराटनगरको अध्यागमन कार्यालय खुल्ने मन्त्री कुसियतले बताए । अध्यागमन विभागसँग कुराकानी भएको केही महिनापछि यस्तो निर्णय भएको मन्त्री कुसियतले बताए । उनले भने, ‘अब अध्यागमन कार्यालय खुल्यो । माउन्टेन फ्लाइटको काम अब होमवर्क हुनेछ ।’

अध्यागमन कार्यालयमा शाखा अधिकृत सहित ७ कर्मचारी हुने र पर्यटकीय आगमनमा सहयोग गर्ने मन्त्री कुसियतले बताए । उनले भने, ‘अब पशुपतिनगरबाट नेपाल छिर्न चाहने तेस्रो देशका पर्यटकले काकरभिट्टा आएर मात्रै भिसा लाउने दिन गए ।’