इटहरी: वैदेशिक रोजगारीका क्रममा विभिन्न समयमा ज्यान गुमाएका २३ नेपालीको शव शुक्रबार नेपाल ल्याइएको छ। शुक्रबार दिउँसो कतार एयरवेजको जहाजबाट २० जना, कुवेतबाट आएको जजिरा एयरले २ नेपालीको शव र दमामबाट आएको हिमालय एयरलाइन्सले एक जनाको शव ल्याएको हो।
 धन कमाउन नेपालबाट उडेका यी नेपाली दाजुभाइ विडम्बना फर्किदा कफिनमा फर्किनुपरेको छ।

यी हुन् ल्याइएका शव

वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट कपिलवस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाही हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डलको शव ल्याइएको छ। यसैगरी मोरङको कोशी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको तेङ्गेछाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पंजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादव सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव कतारबाट ल्याइएको हो। यसअघि जजिराले बिहीबार पनि दुईवटा शव ल्याएको थियो। कोरोना भाइरसको महामारीपछि अन्तर्राष्ट्रिय लकडाउन बन्द हुँदा शव रोकिएका थिए।

यो पनि: भोजपुर, संखुवासभा सहित १७ जिल्लाका २४ जनाको शव विदेशबाट नेपाल ल्याइँदै (सूचीसहित)