एजेन्सीः विश्व महामारी चलिरहँदा जहाँ आधा दुनियाँ लकडाउनका कारण घरभित्र बन्द थियो, त्यही आइसल्यान्डका बार र रेस्टुरेन्टहरु भने भरिभराउ हुन छाडेनन् । यति मात्र नभएर त्यहाँका सुन्दर भूवैज्ञानिक आकर्षणहरु पनि पर्यटकका लागि पूर्णरुपमा खुला गराइएको छ ।

यस्तोमा अहिले आइसल्यान्ड जाने जोकोहीलाई आफू अर्कै दुनियाँमा भएजस्तो आभास हुनु स्वभाविक मानिएको छ जहाँको वातावरण हेर्दा दुनियाँमा कहिल्यै कोभिड–१९ भएकै थिएन जस्तो पनि लाग्छ ।
तर यसको अर्थ आइसल्यान्ड कोभिड–१९ को प्रभाव मुक्त रह्यो भन्ने चाहिँ होइन । किनकि संक्रमणको सुरुवाती चरणमा तुलनात्मक रुपमा थोरै जनसङ्ख्या रहेको यो देश पनि एकदम नराम्ररी प्रभावित भएको थियो । तर तीव्र परीक्षण अनि ट्रेसिङ प्रणाली मार्फत धेरै हद्सम्म आइसल्यान्ड भाइरस मुक्त बन्न सफल भएको हो । जसपछि नै यो देश जनु १५ देखि आफ्नो सिमाना समेत खुलाउन विश्वस्त भएको हो ।

त्यसको दुई दिनपछि देशव्यापी रुपमा राष्ट्रिय दिवस पनि सधैँ झैँ धुमधामसँग मनाइएको थियो । यसरी उक्त समारोहमा प्रधानमन्त्री केट्रिन जकोब्सडिरले राष्ट्रलाई सम्बोधन गर्दैगर्दा उपस्थित भीडमा कसैले पनि मास्क लगाएको थिएन भने सामाजिक दुरी अपनाइएको पनि कतै देखिएन । यसकारण पनि अझैसम्म लकडाउनमै रहेका देशहरुबाट जानेहरु स्वभाविक रुपमा आइसल्यान्ड पुग्दा चकित हुने गरेका छन् ।

सामान्य अवस्था जसरी नै मानिसहरु क्याफेमा मजासँग साथीहरुसँग बसेर खाइरहेको दृश्य धेरैलाई अपत्यारिलो लाग्न सक्छ तर आइसल्यान्डमा त्यही वास्तविकता हो । यसरी अरु बेला भन्दा यतिखेर यो देश भ्रमण गर्नुको छुट्टै बोनस पनि रहेको बताइएको छ किनकि सधैँ अधिक भीड रहने पर्यटकीय स्थलहरु अहिले खालि छन् ।

जसकारण पर्यटकहरुले एकान्तमा मनोरम दृश्यको आनन्द उठाउन सक्छन् । तर आइसल्यान्ड भित्रिने विदेशी पर्यटकहरुले उडानका समयमा र विमानस्थलमा चाहिँ मास्क लगाउनै पर्छ भने अनिवार्य परीक्षणको पनि व्यवस्था रहेको छ । जसका लागि आगन्तुकहरुले ११४ डलर तिर्नुपर्ने हुन्छ । परीक्षणको नतिजा केही घण्टापछि नै मोबाइलमा म्यासेज मार्फत आउनेछ र पोजेटिभ देखिएमा १४ दिनसम्म क्वारेन्टिनमा बस्नैपर्ने हुन्छ ।

तर नेगेटिभ आयो भने चाहिँ कसैमाथि कुनै प्रतिबन्ध लगाइने छैन र स्वतन्त्र रुपमा घुमफिर गर्न पाइनेछ । यसरी आइसल्यान्डले व्यापक परीक्षण र ट्रेसिङ प्रणाली मार्फत मृत्यु दरलाई प्रभावकारी रुपमा कम गराएको हो । कुनै समय युरोपकै सबैभन्दा धेरै संक्रामक रहेको देश, आइसल्यान्डले थोरै समयमै ठूलो सफलता हासिल गरेको बताइन्छ ।

यसमा जस्तै क्रिस्टिन यिरलाई आइसल्यान्डको कोभिड ट्रेसिङ टिमले उनले ६ दिन अगाडि खाना खाएको रेस्टुरेन्टमा काम गर्ने वेटर कोभिड–१९ का बिरामी भएको खबर गर्यो ।

यसपछि उनी तुरुन्तै आइसोलेसनमा जानु पर्यो र यसको केही दिनपछि उनमा कोरोनाको लक्षण पनि देखा पर्यो । उनी भन्छिन्, “पहिलोचोटी सुन्दा त मलाई ठूलो झट्का लाग्यो तरपनि मलाई थाहा थियो कि आगामी दुई हप्ता म घरमा बस्नैपर्छ र अन्त्यमा म २३ दिन कोठाभित्रै बसे पनि । किनकी लक्षण हराइसकेपछि पनि सात दिनसम्म बाहिर नआएकै राम्रो हुन्छ ।”

यस्तोमा उनी अन्य देशहरुले चाहिँ यस्तो प्रक्रिया नअपनाएको सुन्दा आश्चर्यमा परेको बताउँछिन् । उनले थप भनिन्, “हामीले सुरुवात देखि नै यो रोगबारे स्पष्टसँग जानकार भयौँ । र अँध्यारोमा थाहा नपाइ प्रहार गर्नुको सट्टा योजनाबद्ध रुपमा काम गर्यौँ । ”

यसरी भाइरस नियन्त्रणमा ल्याइसकेपछि आइसल्यान्डको सरकारले अर्थतन्त्रलाई पुनः सक्रिय बनाउन विविध कदम अगाडि बढाइरहेको छ जसमा पनि सबैभन्दा नराम्ररी प्रभावित पर्यटन क्षेत्र सुधार्नमा अधिक जोड दिइएको छ । यसकारण नै जोखिम लिएर भएपनि सिमाना खोल्न सरकारले सक्दो प्रयास गरिरहेको छ ।

यसबारे आइसल्यान्डकी प्रधानमन्त्री जकोब्सडिरले सिएनएनसँग भनेकी छन् , “अवश्य पनि मलाई संक्रमणको दोस्रो लहर सुरु हुने चिन्ता छ तर आइसल्यान्डमा अहिले बेरोजगारीको दर पनि अत्यन्तै उच्च बिन्दुमा पुगेको छ जुन हाम्रा लागि स्वभाविक कुरा होइन । यसकारण जनताहरुका लागि काम गर्ने वातावरण सिर्जना गरि बेरोजगारी दर घटाउन सरकारले विशेष जोड दिइरहेको छ । ”

सबैभन्दा पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार जनवरीदेखि अप्रिलसम्म आइसल्यान्डको बेरोजगारी दर दोब्बरले वृद्धि भइ ७ प्रतिशत पुगेको हो । यसरी एकैदिन औसतमा पनि २५,०० देखि ३ हजारसम्म पर्यटकहरु आउने ब्लु लगुन लगायत देशभरका पर्यटकीय स्थल महिनौँ बन्द भएपछि स्थानीयको आमदानीमा ठूलो असर पुगेको बताइएको छ ।

अहिले भने यसलाई पुनः खोलाइने तयारी भइरहेको छ तर संक्रमणको जोखिम कम गर्न पर्यटकहरुको सङ्ख्या सिमित गरिनेछ । यसरी घुम्न आउनेहरुको बुकिङ पनि सुरु भइसकेको छ । सिमाना खोल्ने घोषणा भएपछिका केही दिन पर्यटकीय वेबसाइटहरुमा ५०० प्रतिशतले ट्राफिक बढेको पनि बताइएको छ ।
तर २०१९ मा आइसल्यान्डको कूल घरेलु उत्पादनमा पर्यटन क्षेत्रले ८ प्रतिशत मात्र योगदान पुर्याएको थियो ।

जसकारण सिमाना खुलाउनुले पनि अर्थतन्त्रलाई उल्लेखनीय रुपमा मद्दत पुर्याउनेबारे अर्थविद्हरुले शंका व्यक्त गरेका छन् । यसरी आइसल्यान्ड अहिले भाइरसलाई राम्ररी व्यवस्थित गर्ने र प्यान्डेमिकपछि सामान्य जीवनमा फर्कने विषयमा अरु सबैका लागि राम्रो उदाहरण बन्ने अपेक्षा गरिरहेको छ । सीएनएन