इटहरीः ६ महिनापछि नेपाली सेयर बजारको कारोबार रकमले अर्बको अङ्क नाघेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि मङ्गलबार चमक देखिएको हो ।

लामो समयसम्म दैनिक औसत २० करोड हाराहारीको कारोबारमा भइरहेको बजारमा बिस्तारै चमक देखिन थालेकाले लगानीकर्ता खुशी भएका हुन् । विशेष गरी वाणिज्य बैंकहरूमा लगानीकर्ता झुम्मिएपछि कारोबार रकम र सूचकले बजारलाई साथ दिएको हो ।

बैंकहरूले ४ गुणा पुँजी वृद्धि गर्दा पनि आकर्षक नाफा बढाउन सफल भएकाले बजार बढेको अनुमान गरिएको छ । यद्यपि हालसम्म कुनै पनि वाणिज्य बैंकले गत आर्थिक वर्षको लाभांश भने घोषणा गरेका छैनन् ।

अब बैंक ब्याजदर सस्तो हुन थाल्ने लगानीकर्ताको आशा छ । ब्याजदर सस्तो भयो भने अहिलेको वृद्धिले निरन्तरता पाउने लगानीकर्ताको विश्वास छ ।

नेप्से सूचक मङ्गलबार २२.३७ अङ्कले बढेर १२८०.०५ अङ्कमा पुगेको छ । समग्रमा बजार १.७८ प्रतिशतले बढेको छ । कुल १ सय ७३ कम्पनीको १ अर्ब १२ करोड १२ लाख ७७ हजार ३ सय १५ रुपैयाँको ४४ लाख १७ हजार २ सय ३० कित्ता सेयर १० हजार १ सय १८ पटक किनबेच भएका छन् ।

nepse i

अन्य समूहबाहेक अरु सूचकमा हरियाली
नेप्सेमा कारोबार भएका ११ वटा समूहमध्ये १० वटा समूह बढेका छन् । नेपाल टेलिकम र जलविद्युत तथा लगानी कोषको सेयर समेटिएको अन्य समूहको सूचक भने ०.२६ प्रतिशतले तल झरेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह २.६७ प्रतिशतले बढ्दा विकास बैंक समूह २.४९ प्रतिशतले बढेको छ ।

कारोबारमा प्रभु बैंक अघि
मङ्गलबार कारोबार रकमका आधारमा प्रभु बैंक अगाडि आएको छ । प्रभुको ८ करोड ५६ लाख ४४ हजार ५ सय ३३ रुपैयाँको सेयर किनबेच भएको थियो । दोस्रो स्थानमा रहेको एनआइसी एशियाको ६ करोड २५ लाख ८७ हजार ७ सय ६४ रुपैयाँको र तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ४९ लाख ३० हजार ९६ रुपैयाँको सेयर किनबेच भएको थियो । उच्च कारोबार गर्ने १० वटा कम्पनीमा सबै वाणिज्य बैंक समूहका छन् । दशौं स्थानमा रहेको एनसीसी बैंकको ३ करोड ५६ लाख ८७ हजार १ सय १७ रुपैयाँको सेयर किनबेच भएको थियो ।

क्यापिटल मर्चेन्ट बैंकको धेरै कित्ता किनबेच
मङ्गलबार क्यापिटल मर्चेन्ट बैंकको सबैभन्दा धेरै ६ लाख १ हजार ४ सय १७ कित्ता सेयर किनबेच भएको थियो । प्रभु बैंकको ३ लाख ५१ हजार १ सय ४ कित्ता सेयर किनबेच हुँदा जनता बैंकको २ लाख ८१ हजार ६ सय ८५ कित्ता सेयर किनबेच भएको थियो । क्यापिटल मर्चेन्टबाहेक बाँकी सबै बैंकिङ समूहका कम्पनीको धेरै कित्ता कारोबार भएको छ । दशौं नम्बरमा परेको एनएमबी बैंकको १ लाख ३० हजार ९ सय ३३ कित्ता सेयर किनबेच भएको थियो ।

कारोबार सङ्ख्यामा प्रभु अघि
प्रभु बैंकको सबैभन्दा धेरै पटक कारोबार भएको छ । ६ सय २४ पटक सो कम्पनीको सेयर कारोबार भएको थियो । एनआइसी एशियाको ४ सय १३ पटक कारोबार हुँदा एनएमबीको ४ सय ८ पटक कारोबार भएको थियो । १० वटा कम्पनीको २ सय ७० पटकभन्दा बढी कारोबार भएको थियो ।

nepsee

 

 

 

 

 

 

पाँच प्रतिशत मूल्य बढ्नेमा १२ कम्पनी
भार्गव विकास बैंकको सबैभन्दा धेरै ९.८२ प्रतिशत सेयर मूल्य बढेको मङ्गलबारको बजारमा सनराइज बैंकको ८.१६ र प्रभु बैंकको ७.३६ प्रतिशत मूल्य बढेको छ । साइन रेसुङ्गा र नेपाल कम्युनिटी एण्ड डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ६ प्रतिशतभन्दा बढी बढेको छ ।

मूल्य घट्नेमा ३४ कम्पनी
बजार बढे पनि ३४ वटा कम्पनीका लगानीकर्ताले भने मङ्गलबार सम्पत्ति गुमाएका छन् । लगानी गुमाउनेमा हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स समूहका कम्पनी धेरै छन् । सबैभन्दा धेरै गोर्खाज् फाइनान्सका लगानीकर्ताले सम्पत्ति गुमाएका छन् । सो फाइनान्सका लगानीकर्ताले ४.५४ प्रतिशतले सम्पत्ति गुमाउँदा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले साढे ३ प्रतिशतले सम्पत्ति सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.३८ प्रतिशतले अपि पावरका लगानीकर्ताले ३ प्रतिशतले सम्पत्ति गुमाएका छन् ।

नेप्से सूचक भन्दा सेन्सेटिभ सूचक बढी बढेको मङ्गलबारको बजारमा समग्र बजार पूँजीकरण १५ खर्ब २४ अर्ब कायम भएको छ ।