विराटनगर: मोरङको विराटनगरमा प्रत्येक वर्ष हुने गरेको श्रीराधाकृष्ण रथयात्रा यस पटक नहुने भएको छ । एसियाकै ठूला रथयात्रा मध्ये मानिएको राधाकृष्ण रथयात्रा कोभिड–१९ संक्रमण जोखिमको कारण देखाउँदै सञ्चालक समितिले स्थगन गर्ने निर्णय गरेको हो ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले सार्वजानिक रुपमा रथयात्रा गर्न असमर्थ रहेको जानकारी दिएका हुन् । उनले साउन १५ देखि २७ गतेसम्म हुने झुलन महोत्सव तथा २८ गतेको राधाकृष्ण रथयात्राको कार्यक्रम सार्वजानिक रुपमा आयोजना नगरिने बताएका छन् ।
रथयात्रा अगाडि आयोजना हुने झुलन महोत्सव पनि यस पटक सञ्चालन नहुने बताइएको छ । सार्वजनिक प्रयोजनमा रथयात्रा नगरेपनि मन्दिर परिसरमा रथयात्राको विधि भने सञ्चालन हुने अध्यक्ष ओझाले बताए ।

लामो समयदेखि विगराटनगरमा हुने श्रीराधाकृष्ण रथयात्रामा लाखौं भक्तजनहरु सहभागी हुने गरेका छन् । पूर्वी नेपाल र सिमाावर्ती भारतका विभिन्न ठाउँबाट रथयात्रा अवलोकनका लागि मानिसहरु आउने गरेका छन् ।

१९८८ सालमा ‘खट’ यात्राबाट सुरु भई २०२५ सालदेखि रथ यात्राका रूपमा निरन्तर रुपमा हुँदै आएको छ । विराटनगर–१ पोखरियास्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथले नगरको मुख्य बजारको परिक्रममा गर्दै करिब ८ किलोमिटरको यात्रा तय गर्छ ।