विराटनगर: महानगरपालिकाले घोषणा गरेको लकडाउनको अवज्ञा गर्नेलाई कानून बमोजिम दण्ड जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएकोले त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न लकडाउनको निर्णय भएकोले उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाही गर्ने मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए ।
गृह मन्त्रालयले नै पत्राचार गर्दै कडा निगरानी राख्ने सम्बन्त्री परीपत्र आएकाले भाइरस संक्रमण रोकथामका लागि भिडभाड रोक्ने र अनावश्यक आवागमन नियन्त्रण जरुरी भएकोले महानगरले सबैसँग समन्वय गरेर लकडाउन गरेकोले पूर्ण सहयोग रहने प्रजिअ खड्काले बताए । लकडाउन उल्लंघन गर्नेलाई संघीय सरकारले तोके अनुसारको कार्वाही गरिने उनले बताए ।

लकडाउनको अवधिमा नगर क्षेत्रभित्र अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन, बजार तथा पसल, उद्योग, व्यवसाय, नयाँ र पुरानो दुवै गुद्री बजार बन्द रहने महानगरपालिकाले शुक्रबार बसेको बैठकले एक विज्ञप्ती जारी गर्दै जनाएको छ । लकडाउनको अबधिमा खाद्यान्न तरकारी, फलफुल, औषधि, दूध, पानी, अक्सिजन, इन्धन, बारुणयन्त्र, अस्पतालको बहरिंग बाहेकको सेवा, स्वास्थ्यकर्मी, सञ्चार, आइसीपीबाट हुँदै चल्ने मालबहालक सवारी साधन भने सामाजिक दुरी र स्वास्थ्य सुरक्षा पालना गरेर सञ्चालन हुनेछन् ।

विराटनगर महानगरपालिकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अनावश्यक हिड्डुल नगर्न र सबैले घरमै बसेर सहयोग गर्न आव्हान गरेको छ ।
महानगरमा कोरोना संक्रमितको संख्या १०८ पुगेपछि लकडाउनको घोषणा गरिएको हो । लकडाउन शुक्रबार राति १२ बजेबाट साउन ३० गते राति १२ बजेसम्म कायम हुने महानगरपालिकाले जनाएको छ ।