बेलबारी: मोरङको बेलबारीमा पहिलोपटक समुदायमै कोरोना संक्रमण फैलिएको छ । बिहिबार बेलबारी २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले समुदायमै कोरोना फैलिएको निष्कर्ष निकालेको हो । संक्रमित हुनेमा वडा नम्बर २ का ४२ बर्षीय र वडा नम्बर ३ का ३० वर्षीय पुरुष रहेका छन् ।

४२ वर्षीय संक्रमित पुरुष केहिदिन अघि बिरामी भएर बिराटनगर स्थीत न्युरो अस्पताल गएको बेला लिईएको स्वाब परिक्षणमा उनमा कोरोना पुष्टि भएको बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले जानकारी दिइन् ।

यस्तै अर्का ३० वर्षीय कोरोना संक्रमित ब्यक्ति भारतबाट साउन १३ गते नेपाल आई क्वारेन्टाईनमा बस्दै आएका थिए । परिक्षणमा उनलाई पनि कोरोना पुष्टि भएको उपमेयर पराजुलीले बताइन् । यो सँगै बेलबारीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण देखिएका ४ जना निको भएर घर फर्किसकेका छन् ।

यसैबीच बेलबारी नगरपालिकाको बिहिबार बसेको बैठकले समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै आज मध्यरातिबाट साउन ३२ सम्म लकडाउन घोषणा गरेको छ । लकडाउन अबधिभर अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छ । दुध, पानी बोक्ने गाडी, औषधी पसल बाहेकका सबै सेवा बन्द गरिने उपमेयर पराजुलीले बताइन् ।