काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सङ्क्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न तथा आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन सङ्घीय सरकार एवं सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

आयोगमा प्रवक्ता वेदप्रसाद भट्टराईले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा देशमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सबै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गरिएको छ ।

आयोगले उक्त विषयमा सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।
“आफ्नो इलाकाभित्रका कोभिड–१९ बाट सङ्क्रमित भएका व्यक्तिको सूचना जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको कारण आफ्नो क्षेत्रभित्र कहाँ र के कति सङ्ख्यामा सङ्क्रमित रहेका छन्, परिवार तथा समुदायको संरक्षणको लागि के कस्तो पहल गर्नुपर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो कतिपय स्थानीय तहबाट प्राप्त हुन आएको छ ”, विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हरेक दिन सङ्क्रमणको अवस्था सम्बन्धमा जानकारी दिँदा काठमाडौंलगायत अन्य ठूला शहरको कुन क्षेत्र र व्यवसायका व्यक्तिमा सङ्क्रमण देखियो भन्नेसमेत स्पष्ट गर्दा स्थानीय तहलाई थप सजगता अपनाउन मद्दत मिल्ने देखिएको आयोगले जनाएको छ । 

2020-08-16_Insec_Nepal
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पनि नागरिकको स्वास्थ्यको अधिकारप्रति जवाफदेही हुन सरकारसँग आग्रह गरेको छ । इन्सेकले जारी गरेको प्रेस विज्ञप्तिमा अस्पताल र स्वास्थ्य संस्थाले आवश्यक सुरक्षा प्रबन्ध गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्ने दायित्वबाट विमुख हुन नमिल्ने उल्लेख छ ।

“कठिन परिस्थितिको सामना गर्न र मौलिक अधिकारका रूपमा सुनिश्चित नागरिकको स्वास्थ्यको अधिकार पूर्तिका लागि थप सक्रिय हुन नेपाल सरकारसँग माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “उपचारबाट विमुख भएका नागरिकको उपचार सुनिश्चित गर्नु सरकारी तथा निजी स्वास्थ्य निकायको जिम्मेवारी भएको स्मरण गराउन चाहान्छौँ ।”

कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा यही साउन ३१ गतेसम्म मृत्यु हुनेको सङ्ख्या १०२ र सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ । सङ्क्रमित बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पताल अस्वीकार गरेका घटना सार्वजनिक हुँदा उपचार नपाएको आक्रोशमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटनासमेत सार्वजनिक भएका छन् ।

इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठले कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दरसमेत थपिँदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षित रुपमा परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने बताए । रासस