विराटनगरः प्रदेश १ को राजधानीसमेत रहेको मोरङ जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ । केहीअघि सामाजिक विकास मन्त्रालयले तराईका पाँचमध्ये भारतसँग सिमाना जोडिएको मोरङ जिल्लालाई अधिक संक्रमण हुनसक्ने आंकलन गरेको थियो । सुनसरी, झापा, उदयपुर र इलाम पनि ‘रेडजोन’मा परेका छन् । पछिल्लो दुई साताको परिणामले मोरङलाई कोरोना संक्रमण फैलावटको दर र बढ्दो संख्याका कारण हटस्पट बन्दै गएको देखाएको छ ।

मंगलबार साँझसम्मको तथ्यांकअनुसार मोरङमा १० जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमध्ये ७ जना विराटनगरका छन् । ११२७ जनामा संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेशभर जम्मा २२३२ जनामा कोरोना देखिएको छ । कूल संक्रमित संख्याको आधा त मोरङमा मात्रै छन । जबकी त्यो संख्यामध्ये ६९० जना संक्रमित प्रदेश राजधानी विराटनगरका छन् । विराटनगरमा संक्रमणको दर तीव्र रुपमा बढी रहेको छ । महानगरले समुदायस्तरमा कोरोना गएको निश्कर्षसहित भदौ ५ गतेसम्म लकडाउन अवधि थप गरेको छ ।

विराटनगरका मेयर भीम पराजुली भन्छन्,“संक्रमितको संख्या अझ तीव्र गतिमा बढ्ने हाम्रो अनुमान छ । परीक्षण दर बढेसंगै संक्रमित थपिने क्रम बढेको छ ।” उनले संक्रमित बढेपछि तीन स्थानमा महानगर आफैंले आईसोलेसन सेन्टर सञ्‍चालन गरी संक्रमित राख्‍न सुरु गरिसकेको बताएका छन् । महानगरमा धेरै संक्रमित होम आईसोलेसनमा बसेका छन् । विराटनगरमा मंगलबारमात्रै ९६ नयाँ संक्रमित थपिएका छन् । जसमा ४४ जना सशस्त्र प्रहरी गण रानीका छन् ।

मोरङमा जम्मा ८ वटा आईसोलेसन सेन्टरमा मंगलबार साँझसम्म जम्मा ३५३ जना संक्रमति भर्ना भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांकअनुसार पूर्वाञ्चल विश्व विद्यालय गोठगाउँमा ८४, कोशी अस्पताल कोभिड १९ केन्द्रमा ४८, घिनाघाट कोभिड १९ उपचार केन्द्रमा २०, विराटनगर मारवाडी सेवा समितिमा ४६, काली मन्दिर धर्मशालमा ११, आरती स्ट्रिप्स बुढीगंगामा ४९, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीमा २२ र रंगेली नगरपालिका जनता क्याम्पसमा ७३ जना संक्रमित उपचाररत छन् ।

प्रदेशको तथ्यांक हेर्दा झापामा ४५०, सुनसरीमा ३३९, उदयपुरमा ११० र इलाममा ८१ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा कम भोजपुरमा ६ जना र सोलुखुम्बुमा ८ जना संक्रमित फेला परेका छन् । ती जिल्लामा अहिले संक्रमितको संख्या शून्य छ । दुबै जिल्ला कोरोनामुक्त छन् ।

यसैगरी संखुवासभामा ८, पााचथरमा ८, तेह्रथुममा ९ र ताप्लेजुङमा १२ जनामा संक्रमण देखिएको छ । खोटाङमा १९ र खोलखढुंगामा १८ जनामा संक्रमण पुष्टि भएको छ । धेरै जसो पहाडी जिल्लामा संक्रमित उपचारपछि ठिक भएकोले त्यहाँ संख्या अझ घट्दो छ । कूल संक्रमितमध्ये १९३ महिला र ९४० पुरुष गरी ११३३ जना डिस्चार्ज भएका छन् ।