विराटनगरः कोरोना संक्रमण रोकथाम र उपचारमा भएको प्रगति विवरण सहित हाजिर हुन उच्च अदालत विराटनगरले प्रदेश १ सरकार र विराटनगर महानगरपालिकासहित ७ विपक्षीलाई आज आदेश गरेको छ ।
कोरोना संक्रमण रोकथाम र उपचारलाई प्रभावकारी बनाउन र मृत्यु भएका बिरामीहरूको अवस्था छानबिन गर्न परमादेश जारी गर्न माग गर्दै दर्ता भएको रिटमा अन्तरिम आदेशका लागि उच्च अदालत विराटनगरले प्रदेश १ सरकार र विराटनगर महानगरपालिकासहित विपक्षी ७ वटा निकायलाई प्रगति विवरणसहित छलफलमा हाजिर हुन आदेश गरेको हो ।

हेलचेक्र्याँई हुँदा बाबुको मृत्यु भएको भन्दै किरियामा बसिरहेकी छोरी २२ वर्षीया निलीमा दाहालले बुधबार दर्ताको उक्त रिटमा बिहीबार भएको प्रारम्भिक सुनवाईपछि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ७ वटा विपक्षीलाई ८ भदौमा छलफलका लागि हाजिर हुन आदेश गरेको हो ।आदेशअनुसार मेची अस्पतालबाहेक ८ भदौमा अन्तिम आदेश गर्ने नगर्नेबारेको छलफलमा अरु सातवटै निकाय आ–आफ्नो प्रगति विवरणसहित अदालतमा हाजिर हुनुपर्ने उच्च अदालत विराटनगरका श्रेष्तेदार जितेन्द्रबाबु थपलियाले बताए ।

रिटमा प्रदेश १ सरकारको, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयको कोभिड १९ निगरानी तथा अनुगमन सचिवालय, विराटनगर महानगरपालिका, विराटनगर महानगरपालिकाको जनस्वास्थ्य विभाग, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रदेश सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मेची अस्पताल भद्रपुर झापासहित ८ वटा निकायहरू विपक्षी बनाइएका छन् ।

कोशी कोभिड–१९ उपचार केन्द्रमा २८ साउनमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय सिताराम दाहालको मृत्यु भएपछि छोरी निलिमाले कोरोना रोकथाम, नियन्त्रण र उपचार कार्य व्यवस्थित गराउन र मृत्यु भएकाहरूको अवस्था छानबिन गराउन परमादेश माग गर्दै ८ वटा सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट दर्ता गराएकी हुन् ।

होम क्वारेन्टाइनमा बसेर कोरोना संक्रमणबाट मृत्यु भएका बाबुको किरिया बारिरहेकी छोरी निलिमाले विराटनगर वारेसमार्फत अदालतमा रिट निवेदन दर्ता गराएकी हुन् । बिहीबार रिटउपर भएको प्रारम्भिक सुनवाईमा निवदेकको तर्फबाट कानून व्यावसायी दुर्गा पोखरेलसहित सात जना कानून व्यवसायीले बहस गरेका थिए ।

नेपाल विद्युत प्राधिकरण विराटनगरमा प्राविधिक पदमा कार्यरत उनका बाबु सिताराम कोरोना संक्रमित भएपछि २६ साउनमा उपचारका लागि कोशी कोभिड १९ अस्पताल विराटनगरमा भर्ना भएका थिए । तर श्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेटर र अक्सिनको अभावमा उनको २८ साउन अपरान्ह्र उपचाररत अवस्थामा मृत्यु भएको थियो ।