विराटनगरः प्रदेश राजधानी विराटनगरलगायत क्षेत्रमा समुदायस्तरमा फैलिएको कोरोना संक्रमण भयावह रूपमा बढ्दै जाँदा सूचकहरू पनि खराब हुँदै गएका छन्। सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो छ । यो अवधिमा सरकारले भने परीक्षण दर बढाएको छ। कोरोना संक्रमणका कारण गएको १२ भाद्रमा प्रदेशमा एकै दिन चार जनासम्मको मृत्यु भइसकेको तथ्यांक छ। प्रदेशमा अहिलेसम्म कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालयका अनुसार गत १५ साउनमा संक्रमणमुक्त हुने अर्थात उपचारपछि निको हुने दर ७६ दशमलव ९ प्रतिशत थियो। त्यस दिन पिसिआर परीक्षण गरिएकामा संक्रमण देखिने दर ३ दशमलव १ प्रतिशत थियो । त्यस्तै, संक्रमितको मृत्युको दर शून्य प्रतिशत थियो । तर, अहिले ती सबै सूचक ओरालो लागेका छन्। आइतबारसम्म प्रदेशभर देखिएका ३ हजार २ सय १६ संक्रमितमध्ये १ हजार पाँच सय १७ निको भएका छन् । यो दर ४८ दशमलव ९३ प्रतिशत हो। जुन, १५ साउनको भन्दा २८ प्रतिशतले कम हो । त्यस्तै, आइतबारसम्म मृतकको संख्या २९ पुगेको छ। १५ साउनमा यो दर शून्यमा रहेको थियो। ४ सय ६० जना अस्पतालमा बेड नपाएपछि घरमै बसेका छन् । आइसियूमा बस्नेको संख्या १० छ । भेन्टिलेटरमा अहिलेसम्म कसैलाई राखेर उपचार गर्नुपरेको छैन। साउनको दोश्रो सातासम्म प्रदेशभरि जम्मा संक्रमित ९ सय ७५ प्रदेश १ मा ७ साउनदेखि १४ साउनसम्ममा ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको थियो। सोही अवधिमा विराटनगरमा ६० जना मात्र संक्रमित थिए। तर अहिले एक महिनाको अन्तरालमा यो संख्या ३ हजार २ सय १६ पुगेको छ। विराटनगरमा मात्र संक्रमित संख्या ९ सय ८१ पुगेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालयका संयोजक डा सरोज विशालले जानकारी दिए।
लकडाउन खुलेसँगै प्रदेश १ मा समुदायस्तरमा कोरोना संक्रमण देखिएको थियो। कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो। तर, प्रदेश १ को राजधानी विराटनगरमा भने सोही दिनदेखि कोरोना समुदायमा पुगेको लक्षण देखिएको थियो। साउनको १४ सम्म विराटनगरमा ६० जनामा संक्रमण पुष्टि भएका मध्ये आधाभन्दा बढी ट्राभल हिस्ट्री नभएकाहरु थिए। सो अवधिमा संक्रमितमध्ये २४ जना प्रहरी सुरक्षाकर्मी र ९ जना स्वास्थ्यकर्मी साथै अन्य सर्वसाधारण रहेका थिए। परीक्षण दायरामा वृद्धि संक्रमण फैलिएपछि प्रदेश एकमा परीक्षणको दायार फराकिलो बनाइएको छ।बिराटनगर लगायत अन्य जिल्लामा परीक्षणको दायरा बढाइएको हो। १५ साउनसम्म सरदर दैनिक सात सयको हाराहारीमा हुँदै आएको परीक्षण दर भाद्र महिनाको दोश्रो साता आइपुग्दा बढेर दैनिक सरदर २ हजारदेखि २५ सय पुगेको छ। प्रदेशभरि अहिले तेबर मात्रामा परीक्षण गरिन थालिएको छ।
प्रदेशमा अहिलेसम्म ८६ हजार ४२२ स्वाब परीक्षण गरिएको छ। प्रदेश १ मा संक्रमित संख्या बढेसँगै परीक्षणको दायरा बढाउन थप दुई स्थानमा ल्याब स्थापना गरिएको छ। प्रदेशको २ स्थान धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालमा मात्र प्रयोगशाला रहेको थियो। पछिल्लो समय प्रदेश प्रयोगशाला र मेची अस्पतालमा पनि प्रयोगशाला स्थापना गरी क्षमता बिस्तार गरिएको छ। कोशी अस्पताल,प्रदेश प्रयोगशाला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालको प्रयोगशालाबाट स्वाब परीक्षणको काम भइरहेको छ। रिस्क जोनमा २० वटा स्थानीय तह प्रदेश १ सरकारले कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिममा २० वटा स्थानीय तहलाई राखेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको जनाएको छ। रिस्क जोनमा परेका स्थानीय तहमा अहिले एकैसाथ कन्ट्याक ट्रेसिङ, परीक्षण र आइसोलेसन गर्ने काम भइरहेका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। ‘कोरोनाको हाई रिस्क जोनमा परेका स्थानीय तहलाई कोरोना नियन्त्रण र रोकथाम गर्ने उद्देश्यका साथ अहिले मन्त्रालय लागेको छ’,मन्त्री घिमिरेले भने, ुहाई रिस्क क्षेत्रमा इन्फेक्सन रेट बढी र रिकभरि रेट कम छ, त्यसैले केसहरू थपिँदै जादा ती क्षेत्रमा कन्ट्याक ट्रेसिङ साथै परीक्षण दर र आइसोलेसन गर्ने काम एकसाथ भइरहेको छ।’
प्रदेश सरकारले भारतसँग सीमा जोडिएका चार जिल्लाका २० वटा स्थानीय तहलाई ‘रिस्क जोन’ ९जोखिमयुक्त० क्षेत्रमा राखेको हो। भारतमा संक्रमण दर उच्च छ।खुला सीमा भएका कारण संक्रमण फैलनसक्ने जोखिम निष्र्कष प्रदेश सरकारको रहेको छ। मन्त्री घिमिरेकका अनुसार मोरङका ६, सुनसरीका ५,झापाको ५ र इलामका चारवटा स्थानीय तह जोखिममा छन्। प्रदेश सरकारले मोरङको विराटनगर महानगरपालिका, जहदा र धनपालथान गाउँपालिकालाई उच्च जोखिममा राखेको छ। त्यस्तै भारतसँग सीमा जोडिएका रंगेली, सुनबर्सी र रतुवामाई नगरपालिका जोखिममा छन्।सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, कप्तानगञ्ज, बर्जु जोखिममा छन्। झापाको मेचीनगर, भद्रपुर, कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिका पनि जोखिममा छन्। त्यस्तै इलामको रोङ, सूर्योदय माइजोगमाई र सन्दकपुर जोखिमको सूचीमा छन्। २१ देखि ३० वर्ष उमेर समूहमा संक्रमण दर उच्च कोरोनाको संक्रमणको दर बढेसँगै युवा अवस्थाका मानिसमा सबै भन्दा बढी संक्रमणको दर उच्च देखिएको छ।
सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कुल ३ हजार २१६ संक्रमित मध्ये ३५ दशमलव ५ प्रतिशत अर्थात १ हजार १०८ जना संक्रमित रहेका छन्। त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका ७ सय ८२ जना रहेका छन्। यो उमेर समूहमा २४ दशमलव ७४ प्रतिशत संक्रमित रहेका छन्। ४१ देखि ५० वर्ष उमेर समूहमा संक्रमण दर १३ दशमलव २६ प्रतिशत रहेको छ। संक्रमित संख्या ४ सय १९ रहेको छ। ११ देखि २० वर्ष उमेरका ४ सय १० जना संक्रमित छन। उनीहरुमा संक्रमण दर १२ दशमलव ९७ प्रतिशत छ। ५१ देखि ६० वर्ष उमेर समूहमा ७ दशमलव १२ प्रतिशत अर्थात २ सय २५ संक्रमित छन्। शून्यदेखि १० वर्ष उमेर समूहका ८६ जनामा कोरोना संक्रमण देखिएको छ। प्रतिशत दर भने २ दशमलव ७२ प्रतिशत छ। ६१ देखि ७० उमेर समूहका मानिसमा संक्रमण दर २ दशमलव ६९ प्रतिशत अर्थात् ८५ जना संक्रमित छन्। ७१ माथिका १ दशमलव ४९ प्रतिशत अर्थात ४७ जना संक्रमित छन् । प्रदेश १ मा दुई साताअघि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९१ वर्षीय एक वृद्धाले कोरोना जितेर घर फर्किएकी थिइन । थाहाखबबाट