विराटनगरः प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा गएको एक महिनामा ९ सय २ जना नँया कोराना संक्रमित थपिएका छन। विराटनगर महानगरपालिकाले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्ष निकाल्दै गएको १६ साउनमा नगरक्षेत्रमा लकडाउन गरेको थियो। लकडाउनको शुरुवाती दिन १६ साउनमा विराटनगरमा जम्मा १ सय ७ जना संक्रमित रहेका थिए। १५ भदौसम्म आईपुग्दा यो संख्या बढेर १ हजार ९ पुगेको छ।महानगरले दुई पटक गरी १० भदौसम्म लकडाउन गरेको थियो।तर यो समयमापनि कोरोना नियन्त्रण तथा रोकथामका लागि संक्रमितको पहिचान गर्ने र परिक्षणको दर बढाउने काम खासै हुन सकेको छैन।
जिल्ला सुरक्षा समितिले हाल जिल्ला भरी नै निषेधाज्ञा जारी गरेको छ।पछिल्लो समय विराटनगरमा कोरोनाको उच्च जोखिम हटस्पट बनेको छ। सामुदायस्तरमा कोरोना भाइरस फैलिएपछि विराटनगरसहित मोरङ जिल्लाभरी भदौ १५ गतेसम्म निषेधाज्ञा स्थानीय प्रशासनले गरेको छ। बजारमा मानिसको आवागमन नरहे पनि अहिले दैनिक जसो विराटनगरमा संक्रमित बढ्दो क्रममा छन्। सरकारले २ सयभन्दा बढी सक्रिय कोरोना भाइरस कोभिड—१९ संक्रमित रहेका जिल्लाहरुलाई अति उच्च जोखिम क्षेत्रमा रुपमा राखिएको छ। सरकारको मापदण्ड अनुसार विराटनगरलाई उच्च जोखिममा राखेको छ। बढेन परिक्षणको दर विराटनगरमा लकडाउनपछिको अवधिमापनि शुस्त गतिमा भएको पाइएको छ। १६ साउन यताको एक महिनाको यो अवधिमा संक्रमणको दर ८९ दशमलव ३९ प्रतिशतले बढेको भएपनि परिक्षणको दर भने ४५ प्रतिशतमा मात्र सिमित बनेको छ। आवश्यक स्वास्थ्य सचेतता र परीक्षणको दायरा नबढाउँदा विराटनगरमा कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढपनि यो अवधिमा ९सय २ जना संक्रमित थपिदा जम्मा २ हजार ९०२ जनाको पीसीआर टेष्ट भएको छ।
महानगरले १६ साउनमा गरेको लकडाउनका दिन विराटनगरमा १सय ७ जना संक्रमित भटिएका थिए।साउन १६ देखि २५ गते एक सातमा यो सख्या बढेर २५६ जना पुगेका थियो। सो अवधिसम्म विराटनगरमा कुल ३ हजार ५ सय ४५ जनाको पीसीआर टेष्ट गरिएको थियो।त्यसैगरी ३१ साउनसम्म आइपुग्दा संक्रमितको संख्या ४ सय ८० पुगेको थियो, भने कुल ४ हजार ७ सय ७४ जनाको पीसीआर टेष्ट भएको थियो। विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाको तथ्याङक अनुसार ३ भदौसम्मको अवधिमा ५ हजार ५ जनाको पीसीआर टेष्ट गर्दा ७ सय ४१ जना संक्रमित पुगेको छ।करिव यो डेढ सातको अवधिमा त्यो संख्या बढेर आइतबारसम्म १ हजार ९ जना पुगेको छ।
यो बीचमा परिक्षणको दर भने ६ हजार ४४७ मात्र रहेको छ। विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार महानगरमा अहिले दैनिक २ सयको हाराहारीमा मात्र पीसीआर परिक्षण हुदै आएको छ। ‘नगरभित्र तीव्ररुपमा संक्रमण फैलिइरहेको छ’, स्वास्थ्य महाशाखाका प्रमुख कार्की भने,‘तर जुन रफतारमा संक्रमितहरुको पहिचानका गर्नका लागि परिक्षणको दर बढाउन सकिएको छैन।’प्रदेश सरकारले गर्ने परिक्षणको कामको गतिलाई तिब्रता दिन आवश्यक देखिएको छ।’ एकै वडामा १ सय २६ संक्रमित समुदायस्तरमा फैलिएको कोरोनाका कारण सबै भन्दा बढी विराटनगर १२ वडामा संक्रमितको संख्या १ सय २६ पुगेको छ। प्रदेश प्रहरी र सशस्त्र प्रहरी गण १ नम्बर प्रदेश कार्यालय रानी विराटनगर यही वडामा पर्ने भएकोले यस वडा संक्रमित देखिएको वडाअध्यक्ष हिरालाल कामतले बताए। अहिले देखिएको संक्रमितमध्ये अधिकांश प्रदेश प्रहरी कार्यालय भित्रका प्रहरीमा देखिएको छ। स्थानीयमा कम संख्यामा संक्रमण देखिएको वडाअध्यक्ष कामतको भनाइ छ। यस्तै दोस्रोमा विराटनगर ६ वडामा १ सय ५ जना सक्रमितको संख्या पुगेको छ। यस वडामा एक जना कोरोना संक्रमितको होम आइसोलेशनमा मृत्यु पनि भइसकेको छ।
तेस्रोमा विराटनगर ८ मा संक्रमित छन्। सो वडामा ७९ जना संक्रमित पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ। यस वडा भित्र दुई जनाको मृत्यु भइसको छ। यस्तै विराटनगर १ मा ३१ जना, विराटनगर २ मा ६४ संक्रमित छन्। २ वडामा एक जना कोरोना संक्रमित पुरुषको कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको थियो। यसैगरी विराटनगर ३ मा ६९ जना, विराटनगर ४ मा ३४ जना ५ मा ५७ जना संक्रमित छन्। विराटनगर ५ मा एक जना बृद्धा संक्रमित पुरुषको मृत्यु भइसकेको छ। यस्तै विराटनगर ७ मा ४५ जना, विराटनगर ९ मा ७७ जना संक्रमित पुगेका छन्।

biratnagar-luck-down_2_wkM3bIlmW4

 

विराटनगर ९ को गुद्रीको दुई जना कोरोना संक्रमितको मृत्यु पनि भइसकेको छ। यस्तै विराटनगर १० मा ३७ जना, ११ मा ६८ जना संक्रमित पुगेका छन्। ११ वडामा १ जना कोरोना संक्रमित महिलाको मृत्यु भइसकेको छ। विराटनगर १३ मा २२ जना, १४ मा १९ जना, १५ मा ५४ जना संक्रमित पुगेका छन्। १५ वडामा एक जना कोरोना संक्रमित युवाको मृत्यु भइसकेको छ। यस्तै विराटनगर १६ मा २८ जना, १७ मा २६ जना, १८ मा ४ जना र १९ वडामा शुन्य संक्रमित छन्। १९ वडामा अहिलेसम्म संक्रमित भेटेको छैन। वडा नखुलेको ६३ र १ जना संक्रमित विराटनगर बाहिरको रहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए। हालसम्म ३ सय ८९ जना संक्रमण निको भएको महानगरपालिकाको अभिलेखमा उल्लेख छ।
साउन १८ गते महानगरमा हालसम्म संक्रमण पुष्टि भएका १ सय ८ जनामध्ये अस्पतालका एक चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५, विराट नर्सिङ होमका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी २१, प्रदेश १ प्रहरी कार्यालयका २४ जना प्रहरीलगायत समाजका अगुवाहरू रहेका थिए।महानगरमा लकडाउनपछि एकैदिन १०८ जनामा कोरोना पुष्टि भएको थियो। होम आइसोलेसनमा बस्ने बढे विराटनगरमा कोरोना संक्रमितमध्ये अधिकांश होम आइसोलेशनमा छन्।

महानगरको तथ्यांकअनुसार आइतबारसम्म ६०६ जना संक्रमित होम आइसोलेशनमा बसेका हुन्। महानगरले १ सय बेडको आइसोलेसन तयार परेको छ। महानगरपालिका आफैले व्यवस्थापन गरेको तीन स्थानका होल्डिङ आइसोलेसनमा ९० जना संक्रमितहरु उपचाररत छन्। जसमध्ये २० बेड क्षमता भएको स्वास्थ्य चौकी बैजनाथपुरमा १० जना संक्रमित उपचाररत छन्। त्यस्तै, ४० बेड क्षमता भएको काली सेवा सदनमा ३६ जना संक्रमित रहेका छन भने ४० बेड मात्र क्षमता भएको मारवाडी सेवा सदनमा ४४ जना संक्रमित रहेको विराटनगर महानगरपालिकाको तथ्यांक छ।होल्डिङ आइसोलेसनमा ५ वर्षमुनिका ८ जना संक्रमित बालबालिका उपचाररत रहेका छन्। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले लकडाउनपछिको अवधिमापनि संक्रमणको दर बढने क्रम नरोकिएको बताए। मेयर पराजुलीले ठुलो संख्यामा दैनिक जसो धेरै मानिस संक्रमित भएकाले महानगरले तयार पारेको आइसेलेसनमा राख्न क्षमता नभएकाले उनीहरुलाई आइसोलेसनमा बस्न आग्रह गरिएको बताए।
साउन ७ गते संघीय सरकारले लकडाउन खोलेपछि विराटनगरमा संक्रमितको संख्या ह्वात्तै बढ्यो,’ मेयर पराजुलीले भने, ‘अहिले बाहिरबाट आएका मानिसभन्दा ट्राभल हिस्ट्री नभएका धेरै संक्रमित देखा परेका छन्।यसको अर्थ हो समुदायमा फैलिएको छ।’ ट्राभल हिस्ट्री नभएका मानिसमा देखिएको संक्रमणले रोकथाम र नियन्त्रणमा निकै कठिन भएको मेयर पराजुलीले बताए। कोरोनाबाट ११को मृत्यु कोरोना संक्रमणका कारण विराटनगरमा ११ जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिको तथ्याङक अनुसार वडा नम्बर ८, ९ र १५ मा दुई–दुईजना संक्रमितको मृत्यु भएको छ। विराटनगर २, ३, ५ ,६ र १० मा एक–एक जनाको मृत्यु भएको छ। विराटनगरमा पहिलो पटक कोरोना संक्रमणका कारण १९ साउनमा विराटनगर–५ का ७७ वर्षीय वृद्धको मृत्यु भएको थियो।मृत्यु भएका ११ मध्ये अधिकांशमा दीर्घरोगको समस्या थियो। विराटनगरमा हालसम्म मृत्यु भएका कोरोना संक्रमितहरु अधिकांश पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, दम, मिर्गौला र श्वासप्रश्वासको समस्याबाट ग्रसित रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। थाहाखबर