अमृता रामदाम सेन्चुरी

म अमृता रामदाम सेन्चुरी नेकपा एकिकृत समाजवादी धरान उपमहानगर कमिटीको उप–सचिव, नेपाल दलित मुक्ती संगठन सुनसरीको जिल्ला अध्यक्ष र अनेमसंघ समाजवादीको एक नम्बर प्रदेश सदस्य आफनो जीवनको आरोह अवरोहसँगै समाजवादको यात्रासम्मका अनुभवहरु तपाईहरु समक्ष राख्न चाहन्छु ।

सुनसरीको धरानसँग मेरो साइनो वैवाहिक बन्धनमा बाँधिएपछि गाँसियो । धरान पुर्वक्षेत्रको सुन्दर नगरी मात्र नभएर मानिसका लागि अध्ययन गर्ने एउटा खुल्ला पाठशालासमेत हो ।

धरानवासीहरु सधै आफ्नो भन्दा अरुको हकहित अधिकारका लागि लड्दै आवाज उठाउदै आएका छन् । मेरो धरान आगमन २०५५ वैशाख १६ गतेदेखि औपचारिक रुपमा भएको हो । धरान निवासी नवराज रामदानसँग लगनगाठोमा बाँधिएपछि आफ्नो परिवारसगै धरानको हावापानी, माटो, समाजसँग परिचित हुदैँ गए ।

धरानको महेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्यय्नका लागि भर्ना भएर नियमित अध्ययन गर्ने मेरो सपना, इच्छा, चाहना घर व्यवहारसँगैका सन्तान हुर्काउनु पर्ने मातृत्वको अभिभाराका कारण २०५६ सालपछि बिच्चैमा रोकियो पहिलो सन्तानले २०५६ जेठ ६ गते र दोस्रो सन्तान २०६० साउन ३ गते जन्म लिएकाले उनीहरुको स्यहार सुसारसगै पढ्ने चाहना अधुँरो रह्यो ।

मेरो धरानको बसोबाससँगै यही कर्मथलो बनेपछि आफनो घर व्यवहार गर्दै विभिन्न सामाजिक संघ सस्था मार्फत धराने बुवाआमा, दाजुभाई, दिदी बहिनीहरुका बिचमा आफ्नो पहिचान बनाउन लागे ।

२०६८ सालको सुरुवाती महिनाका दिनहरु मेरो जिवनमा कहिल्यै बिर्सन नसक्ने गरि सधै कालो रात बनेर आयो । २०६८ जेठ २० गते मेरो जिवन साथी नवराज रामदानको मोटरसाईकल दुर्घटनामा परि असामयिक निधन भएपछि मेरो जिवनमा ठुलो विपत्तीले संकटसगै मेरा जिवनका अनेकौ सपनाहरु, सारा खुशीहरु खोसियो ।

मेरो काँधमा घर व्यवहारसगै दुई साना छोराहरुको रेखदेख लालन पालनसगै श्रीमान्ले चलाएको आएको आर्थिक आय आर्जनको मुख्य माध्यम खुकुरी उधोग संचालनको जिम्मेवारी सम्हालनु पर्ने बाध्यता आयो । आफुले आफैलाई दह्रो रुपमा पाइला टेक्दै जीवनको संघर्षलाई अगाडी बढाउने बाहेकका विकल्पहरु मसँग थिएन् ।

मलाई त्यस दुःख शोक र पीडाको समयमा परिस्थीती सँग जुध्दै अगाडी बढन मेरा बुबाआमा, दाजु भाउँनु, भाई बुहारी बहिनी ज्वाईलगायतले अमुल्य साथ सहयोग हौसला दिनु भयो । यसैगरि दिन रातहरु बित्दै गए पिडाहरु भुल्दै गए, घर व्यवहारसगै समाजसँग जोडिदै गए ।

भोजपुरमा जन्मिएकी मलाई मेरा बुबा टेकबहादुर सुनार र आमा शकुन्तला सुनारले बसाइँसराई गरि उदयपुरको बेल्टारमा विद्यालय भर्ना गरिदिएपछि त्यहीबाट विद्यालयको शिक्षा पुरा गरेको थिए ।

बुवाआमाले असल संस्कार र शिक्षा दिनु भएकाले गरिव विपन्न असाहयको पक्षमा सानैदेखी सहयोग सदभाव राख्दै आएकी मलाई धरान र यहाँको समाजले अन्याय, अत्याचारको बिरुद्धमा, शोषण उत्पीडनको विरूद्धमा, विभेदहरुको बिरूद्धमा, मजदुर, किसान, श्रमजीविको हकहीतको बारेमा अग्रसर भएर बोल्न साथ दिन सिकायो ।

nekapa-madhab

२०७७ सालको भदौ महिनामा नेकपा एकिकृत समाजवादी पार्टी औपचारिक रुपमा दर्ता भएपछि मलाई राजनितिमा मार्फत समाजसेवामा लाग्ने बाटो यही पार्टीबाट सुरु गर्ने भित्री इच्छा जाग्यो । जहाँ इच्छा त्यही उपाय भन्ने भनाई जस्तै चिनजानका कमरेड दिपक विक मार्फत नेकपा एकिकृत समाजवादीकी केन्द्रिय सदस्य सुषमा राईले पार्टीको कमिटीमा आवद्ध भएर काम गर्न प्रस्ताव राख्नु भयो । उहाँसगै इटहरीका अगुवा दलित पत्रकार नेता कमरेड पिवी दियालीलेसमेत सहयोग गर्नु भयो ।

धरानमा एमालेको दवदवा रहेको थियो नेकपा एसमा लाग्न चाहनेहरुलाई रोक्ने एमालेको नीतिले धेरैजना कमरेडहरु हामीसँग आउने बस्ने चाहना हुदा हुदै पनि सुरु सुरुमा कोही पनि खुलेर संगठनमा बस्न चाहनु भएन् ।

हामीले धरानमा रहेको बराह ज्वेलर्सको भवनमा जिल्ला भेलाको आयोजना गरयौ । सो भेलामा दलित मुत्ती आन्दोलनका अगुवा हाम्रो पार्टीका केन्द्रिय नेता नेपाल दलित मुक्ति संगठनका अध्यक्ष कमरेड गणेश विश्वकर्माको प्रमुख आतिथ्यमा पार्टीका केन्द्रिय सदस्यद्धय कमरेड केशव विष्ट र सुषमा राई, जिल्ला अध्यक्ष गोविन्द निरौलालगायतका अगुवा नेताहरुको सहभागीतामा भएको थियो ।

kalam1637717650

भेलाबाट मलाई नेपाल दलित मुक्ति संगठनको जिल्ला अध्यक्षको जिम्मेवारी दिनुभयो । सुनसरीमा नेकपा एसको पहिलो जनवर्गीय संगठनका रुपमा नेपाल दलित मुक्ति संगठन गठन भयो ।

धरान तथा जिल्लाका विभिन्न स्थानका साथीहरु विस्तारै मेरो र पार्टीको सम्पर्कमा आउन थाल्नु भयो । पार्टीको संगठन गर्ने कामको थालनी यहीबाट सुरु भएपछि महिला भएको नाताले अनेमसंघ प्रदेश एकको सदस्यकोसमेत जिम्मेवारी पाए ।

एक महिना अगाडी धरान उपमहानगर कमिटीको उपसचिवमा समेत जिम्मेवारी लिएर काम गर्ने अवसर पार्टीले दिएको छ । नेकपा एस नेपालको कम्युनिष्ट आन्दोलनको एउटा पाठशाला भएकाले हिजोका दिनमा मैले धरानमा सामाजिक संघ संस्था मार्फत गरिब, विपन्न तथा असाहयका लागि हातेमालो गर्दै काम गर्ने अवसर पाएकी थिए ।

आफै एकल महिला भएकाले एकल महिला दिदी बहिनीहरुको हकअधिकारका लागि आवाज उठाउन लागेकी थिए ।
संस्था मार्फत गर्दै आएका कामहरुलाई राज्य संचालनमा रहेका दलहरु मार्फत उठाउने चाहना अनुसार नेकपा एकिकृत समाजवादीमा आवद्ध भएर समाजवादको यात्रा मार्फत पुरा गराउन अगाडी बढेको छु ।

समानता, न्यायका लागि गरीब तथा निमुखा जनताका आधारभुत समस्यालाई पुरा गराउने आधार लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद भएकाले विशेषगरि समाजमा पछिपारिएका महिला, दलित, अपाङ्गता भएका मानिसहरु, पिछडिएका वर्गको उत्थानसगै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, मानवअधिकार, सुरक्षा जस्ता आवश्यकतालाई नेकपा एसले पुरा गराउन सक्ने विश्वास लिएकी छु ।

हाम्रो नेकपा एसलाई लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति, मूल प्रवाहको रूपमा स्थापित गराउँदै समाजवादको यात्रामा हिडेका सहयात्रीहरुसगै मेरो जिवनको उर्जा, महत्वपुर्ण समय राजनितिक काममा सर्मपित गर्दै समाजको परिवर्तन र विकास गर्न अगाडी बढेको छु ।

सुनसरी र धरानका आम शोषित, पिडित, अन्यायमा परेका तमाम समुदायको मुक्तीका लागि काम गर्ने दृढ अठोट विश्वास लिएकाले तपाईहरु सवैजनाको सहयोग, सल्लाह, सुझावको अपेक्षा गर्दछु ।