विराटनगरः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी थप ७ दिन निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ । तर प्रशासनले केही खुकुलो प्राबधानसहित निषेधाज्ञाको समय बढाएको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर एक साता थप्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।

निषेधाज्ञामा बजारलाई १२ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ । त्यसपछि सबै बजार र पसल बन्द हुनेछ । बिहानको अबधिमा पनि गुद्रीसहितका तरकारी बजार, होटल, सैलुन, ब्युटिपार्लरजस्ता व्यवसाय भने सञ्चालन गर्न नपाइने निरौंलाले बताए । यस्तै बजार खुल्ला गरिएपनि सवारी साधन सञ्चालन गर्न भने पाइने छैन । मोटरसाईकल र साइकललाई पनि चल्न नदिनेगरी विषेधाज्ञा जारी गरिएको उनले जनाए ।

समुदायमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण तथा रोकथाम गर्न लगाइएको ५ दिने निषेधाज्ञाले संक्रमण दर कम भएको निश्कर्ष बैठकले निकालेको प्रजिअ निरौलाले जानकारी दिए । निषेधाज्ञा अगाडि विराटनगरमा दैनिक संक्रमण दर ८० हाराहारीमा रहेकोमो अहिले ४० हाराहारी रहेको छ ।

यसअघि विराटनगरसहित आसपासका ४ स्थानीय तहमा मात्र निषेधाज्ञा लागू गरेको प्रशासनले अबको साता भने जिल्लाभर त्यसलाई लागू गरेको जनाएको छ । स्थानीय प्रशासन ऐनको दफा ६(३) अनुसार जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रजिअ निरौलाले जानकारी दिए । निषेधाज्ञाको समयमा पनि उद्योग व्यवसाय सञ्चालन गर्न पाउनुपर्नेमा माग उद्योगी व्यवसायीले गर्दै आएका थिए । उनीहरुकै दबाबको कारण दैनिक १२ बजेसम्म बजार खुल्ला राख्ने निर्णय भएको बताइएको छ ।