इटहरीः प्रतिदिन जिल्लामा कोरोना संक्रमण बढेपनि जिल्ला प्रशासन कार्यालय सुनसरी बजार तथा पसल खुलाउने बिषयमा लचिलो बन्दै गएको छ । आज(मंगलवार)बाट जिल्ला भरीका बजार तथा पसल दिँउसो २ बजेसम्म खोल्न दिने निर्णयले व्यवसायीहरुलाई थप राहत मिलेको छ । यसअघि विहान १० बजेसम्म बजार तथा पसल खोल्ने निर्णयले बजार तथा पसलमा थप भीड बढेको थियो ।
जिल्ला भरीका उद्योग वाणिज्य संघ, स्थानीय सरकारका अधिकारीहरु लगायतको राय सुझाव र मागलाई ध्यानमा राखेर सुनसरी प्रशासनले यस्तो निर्णय गरेको हो । क्रमश बजार तथा पसललाई साँझ ६ बजेसम्म खोल्न दिने गरि अर्को पकट पुन निर्णय आउने स्रोतको भनाई छ ।
प्रशासनले गरेको निर्णय अनुसार बजार तथा पसल खुले नखुलेको अनुगमन गर्ने जिम्मेवारी भने स्थानीय तह र उद्योग वाणिज्य संघहरुलाई दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलवार प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासनले यसअघि नै बजार तथा पसल खोल्दा कोरोना संक्रमण हुनबाट बच्नका लागि अपनाउनु पर्ने सबै खालका मापदण्ड पुरा गर्नु पर्ने र समाजिक दुरी कायम गरि मात्र व्यपार व्यवसाय गर्नु पर्ने बताईसकेको थियो ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेलद्वारा हस्ताक्षर गरिएको सूचनामा हाललाई सैलुन, ब्युटी पार्लर,व्यायामशाला, शैक्षिक संस्था भने खोल्न नपाइने उल्लेख गरिएको छ । होटेल तथा रेस्टुरेन्टले अनलाइन डेलिभरी र टेकअवेको विधि बाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । फुटपाथ सामान बिक्री गर्न र दैनिक तथा साप्ताहिक हाट बजार पनि अर्को व्यवस्था नभएसम्मलाई निषेध गरिएको प्रकाशित सुचनामा उल्लेख गरिएको छ । दुई दिनअघि मात्रै इटहरी होटल व्यवसायी संघको तर्फबाट प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेललाई एक ज्ञापन पत्र बुझाउँदै दुई चरणमा इटहरीका होटलहरु संचालन गर्नका लागि आवश्यक वातावरण बनाईदिन आग्रह गरिएको छ । संघको आग्रहलाई प्रमुख जिल्ला अधिकारीले स्वीकार गर्नेमा आफुहरु ढुक्क भएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । भदौं २५ गते साना र असोज १ गतेबाट ठूला होटल तथा रेष्टृरेन्ट खोल्न नपाए व्यवसायीहरुमा ठूलो संकट आउने उनको भनाई छ ।