इटहरीः विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका एक नेपाली युवामाथि नेपाल–भारत सीमा क्षेत्र दशगजामा गोली प्रहार भएको छ।

विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि दशगजा क्षेत्र अन्तर्गत भारततर्फको भू–भागमा गोली प्रहार भएको हो । भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा पर्ने घटनास्थल मटेरुवा प्रहरी चौकीबाट लगभग ३० मिटर मात्रै पश्चिममा छ । त्यहाँ सशस्त्र प्रहरी पनि परिचालित छ । तर सीमामा खटिएका नेपाल र सशस्त्र प्रहरीले घटना भएका बेला कुनै जानकारी पाउन नसकेको बताएका छन्।

कोरोना भाइरस संक्रमणका कारण अहिले सीमा क्षेत्रबाट दुई देशबीचको आवतजावत बन्द गरिएको छ । सीमाका सुरक्षाकर्मीलाई छल्दै आइतबार दिउँसो ३ बजेतिर भारततर्फ लागेका मण्डलमाथि केही पर पुग्गेपछि गोली प्रहार भएको खुलेको छ।

सीमा कट्नसाथ दशगजाको भारततर्फ क्यारम खेलेर बसिरहेका भारतीय युवाले विवाद गरेर आफूमाथि गोली प्रहार गरेको जानकारी मण्डलले नेपाल प्रहरीलाई गराएका छन् । विवादका क्रममा क्यारम खेलिरहेकामध्ये भारत जोगवनीका अन्दाजी २५÷३० वर्षीय मुकेश यादवले आफूसँग भएको पेस्तोल निकालेर गोली प्रहार गरेको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

bb 2

गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको छ । गोली प्रहारपछि ढलेका मण्डललाई घटनामा संलग्नले नै उठाएर जोगवनी बजारको एउटा क्लिनिकमा उपचारका लागि पु¥याएको खुलेको छ । नेपाल प्रहरीका अनुसार क्लिनिक सञ्चालकले गोली प्रहार किन गरेको भनेर सोध्न थालेपछि घटनामा संलग्न यादवले त्यहाँ पनि आफूसँग रहेको पेस्तोल निकालेर तीन राउण्ड हवाईफायर गरेको पाइएको छ।

तीन राउण्ड फायर गरेपछि यादव त्यहाँबाट फरार बनेको भारतीय प्रहरीलाई उद्रित गर्दै नेपाल प्रहरीले जनाएको छ । हवाईफायर भएपछि जोगवनीमा भागदौड मच्चिएको थियो । त्रासका कारण स्थानीयबीच भागदौड हुन थालेपछि त्यही मौका छोपेर आफू पनि नेपाल छिरेर ज्यान बचाएको घाइते मण्डलले बताए।

भारतीय प्रहरीले पनि घटनाका बारेमा चासो दिँदै गोली प्रहार गर्नेको खोजी तीव्र बनाइएको जानकारी नेपाल प्रहरीलाई दिएको छ । भारतीय भूमिमा घटना भएकाले त्यसको अनुसन्धान र कारबाही भारतीय प्रहरीले अघि बढाउने भएको छ ।