धरानः धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा सोमबार पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
सागुरीगढी–१० की ३८ वर्षिय सनमाया राई र पाँचथर घरभई सोही ठाउँमा छोरी ज्वाइसंग बस्ने ६५ वर्षिय देवीमाया सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते १५ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मीक कक्षमा उपचार भइरहेको प्रतिष्ठान प्रहरी पोष्टका सहायक प्रहरी निरीक्षक तिलक गिरीले जानकारी दिए ।
साँगुरीगढी गाउँपालिका–१० ताम्लिङबाट यात्रु बोकेर धरान आउदै गरेको को १ ज १८२१ नम्बर पिकअप कच्चि सडकको घुम्तिमा ब्रेकफेल भई साँगुरीगढी–९ हर्दियास्थित लेखा टोलमा विहान करिब ११ बजेतिर दुर्घटना परेको थियो ।
प्रतिष्ठान प्रहरी पोष्टका अनुसार घाइते हुनेहरुमा सागुरीगढी–१० ताम्राङकी यूनिशा राई, चन्द्रमाया राई, लक्ष्मण राई, ८ वर्षिया यूवकजंग राई, सन्दीप राई र श्याम लिम्बू रहेका छन् । उनीहरु सबै ताम्राङका हुन् ।
यस्तै, साँगुरीगढी–२ आहालेका काशीराम राई, सनम राई, चन्द्रकला राई, पञ्चमाया राई, फुलमाया राई, सरिता राई, रविन राई, सुकमाया राई र २ वर्षिया नेलसन राई रहेका छन् । त्यस्तै, सागुरीगढी–९ का मित्र राई रहेका छन् ।
नेलशन सुकमायाका छोरा हुन् । उनीहरु दुबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये काशीरामको अवस्था गम्भिर रहेको छ । उनको छाँती र टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । काशीराम गाडी मालिक समेत हुन् ।
घाइतेहरु मध्ये लक्ष्मण राईले सडकको घुम्ती पार गर्ने क्रममा बे्रकफेल भई दुर्घटना भएको हुनसक्ने बताए । सडकबाट गाडी २÷३ पटक पल्टिदै खसेको उनले बताए । उनको बाँया पटिको फिलामा सामान्य चोट लागेको छ ।