इटहरीः कोरोना महामारीका कारण लामो समयदेखि व्यवसाय बन्द हुँदा मर्कामा परेका व्यवसायीहरुलाई राहत दिन सुनसरीको इटहरी उपमहानगरपालिकाले कर छुट दिने भएको छ ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ को सम्पूर्ण व्यवसाय कर मिनाहा गरेको उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् । महामारीबाट व्यवसाय संकटमा परेका साना व्यवसायीलाई लक्षित गरी कर मिनाहा गरेको उनको भनाइ छ । साथै, उपमहानगरपालिकाले २०७३÷७४ देखि हालसम्मको व्यवसाय कर २०७७ माघ मसान्तसम्म बुझाए जरिवाना नलिने भएको छ । यस्तै २०७६÷७७ को कर भुक्तान गर्नेलाई २५ प्रतिशत र २०७७÷७८ को कर बुझाउनेलाई माघ मसान्तकै सीमाभित्र २० प्रतिशत छुट दिने भएको छ । यसैगरी उपमहानगरपालिकाले वि.स. २०७५ भन्दा अघिका सबै घर बहाल कर मिनाहा गर्ने भएको छ । २०७५ साल पछिको घर बहाल करमा पनि छुटको व्यवस्था गरेको उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा ५० प्रतिशत, २०७६÷०७७ मा ३० प्रतिशत र २०७७÷०७८ ३० प्रतिशत छुटको व्यवस्था गरेको छ ।