इटहरीः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनगर्ठनबारे आज शुक्रबार बालुवाटारमा छलफल सुरु भएको छ । अध्यक्षद्वयले हिजो गरेको छलफललाई निरन्तरता दिएका हुन् ।

अध्यक्षद्वयका निकटस्थ नेताहरुका अनुसार मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यसमेत सुरु भएको छ । गत आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव पेस भएको थियो । बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने र नयाँ राख्ने, राम्रा काम गरेकालाई निरन्तरता दिने लगायतका विभिन्न विकल्पमा छलफल भएको थियो । बैठकबाट अध्यक्षद्वयले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तयार गर्ने जिम्म्ेवारी पाएपछिे मन्त्रिपरिषद् पुनर्गठनको तयारी सुरु भएको हो ।

पार्टी एकतालाई टुङ्गोमा पुर्याउने जिम्मेवारी भने अध्यक्षद्वयका साथै महासचिव विष्णु पौडेलले पाएका छन् । उनीहरुलाई १० दिनभित्र एकताको प्रस्ताव सचिवालयमा पेस गर्ने कार्यादेश रहेको छ । संवैधानिक तथा राजनीतिक नियुक्तिलाई पूर्णता दिनेबारे पनि दुवै नेताबीच छलफल हुने भएको छ ।