इटहरीः कोरोना भाइरस कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहीबरसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार दुई सय १४ जना छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन् । केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार तीन सय छ, कुवेतबाट आठ हजार तीन सय ३५, मलेसियाबाट ११ हजार तीन सय ५२, साउदी अरबबाट ११ हजार आठ सय १९, दक्षिण कोरियाबाट एक हजार चार सय ४७, बहराइनबाट एक हजार दुई सय ७४, ओमनबाट एक हजार एक सय ५०, अष्ट्रेलीयाबाट एक हजार ९१ र टर्कीबाट नौ सय ३६ छन् ।

स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार पाँच सय ४६, प्रदेश २ का ११ हजार नौ सय नौ , वाग्मती प्रदेशका १८ हजार दुई सय ४७, गण्डकी प्रदेशका आठ हजार नौ सय ७३, प्रदेश ५ का ११ हजार चार सय ५०, कर्णाली प्रदेशका एक हजार पाँच सय १८ र सुदुरपश्चिम प्रदेशका एक हजार सात सय ३७ जना रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये आठ हजार चार सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ । (रासस)