इटहरीः सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा नेपाल विद्युत् प्राधिकरणको १३२÷३३ केभिएको ६३ एमभिए क्षमताको ग्रिड सबस्टेशन निर्माणको कामले गति लिएको छ ।

नेपाल विद्युतप्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सुशील यादवका अनुसार नेपाली कम्पनी बाइबा र भारतीय कम्पनी पावर टेकले संयुक्त रुपमा सबस्टेशन निर्माण गरिरहेका छन् । गत आर्थिक वर्षको भदौमा सुरु भएको निर्माणको काममा लागेका भारतीय कामदार कोरोना महामारीपछि स्वदेश फर्किएकाले हाल नेपाली कामदारबाट कामलाई निरन्तरता दिइएको भन्दै यादवले १६ करोडको लागतमा हुन गइरहेको निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न लागिएको बताए ।

सबस्टेशन निर्माण सम्पन्न भए हाल रौतहटको चन्द्रनिगाहपुरबाट विद्युत् आपूर्ति गर्नुपर्ने अवस्थाको अन्त्य भई यसै सबस्टेशनमार्फत् दुई ओटा सर्किट प्रयोग गरी जिल्लाभर विद्युत् वितरण गर्न सकिने प्राधिकरणका लालबन्दी वितरण केन्द्र प्रमुख सुधिर कुमार रायले बताए ।