इटहरीः चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औँ सत्याग्रहका क्रममा अनसनरत रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
मुटुको चाल अनियमित हुनुका साथै संक्रमण हुनसक्ने भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । डा.केसीको उपचारमा संलग्न चिकित्सक टोलीका प्रमुख डा.सुवासचन्द्र आचार्यका अनुसार १३ दिनदेखि अनसनरत केसीको रगतमा सेतो रक्तकोषका साथै चिनी,इलेक्ट्रोलाइट पोटासियमलगायत तत्वको कमीका कारण संक्रमणको जोखिम बढेको छ ।
त्रिवि शिक्षण अस्पतालमा अनसनरत रहेका केसीमा हाल मांसपेशी बाँउडिने, रिङ्गटा लाग्नेजस्ता समस्या देखिएकोमा सुगरको कमीका कारण मस्तिष्कको समस्याका साथै मुटुको धड्कन अनियमित हुने तथा स्नायु प्रणालीमा समस्या आउन सक्ने डा.आचार्यको भनाइ छ । उनले डा.केसीको कोरोना रिपोर्ट भने नेगेटिभ रहेको बताएका छन् ।