इटहरीः सरकारले आज आइतबार बोलाएको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकमा मन्त्रिमण्डल परिवर्तनको विषयमा केन्द्रीत रहेकोले यसलाई महत्वपूर्ण मानिएको छ । यद्यपी बैठकका निर्णय भने सार्वजनिक भएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित बैठकका क्रममा कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरिएको छ ।

यसका साथै बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनलाई तत्काल पूर्णता दिनेबारे पनि छलफल भएको छ । मन्त्रालय टुक्याएर केही मन्त्री थप्ने प्रधानमन्त्री ओलीको योजनाबारे पनि छलफल भएको जानकारी प्राप्त भएको छ । दुवै अध्यक्षबीच सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार मन्त्रिमण्डल पुनर्गठनको सहमति भएको छ ।

राष्ट्रियसभामा मनोनयन गरिएका पार्टी उपाध्यक्ष वामदेव गौतमका विरुद्ध सर्वोच्चमा परेको रिटमाथि सर्वोच्च अदालतमा आगामी बुधबार हुन गइरहेको पेसी सम्पन्न नहुँदै मन्त्रिमण्डल पुनर्गठनको तयारीमा दुवै अध्यक्ष एकजुट भएको विष्लेशण गरिएको छ ।