इटहरीः नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदमा भागवण्डा खोजेकोमा आपत्ति व्यक्त गरेका छन् ।
आज आइतबार ट्वीटरमार्फत् उनले सभापति देउवाले विभिन्न संवैधानिक आयोगमा भागवण्डा खोज्दा उपसभामुखको निर्वाचन समेत हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । कोइरालाले आफ्नो ट्वीटमा संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुखको पद रिक्त रहँदा संवैधानिक परिषदले समेत पूर्णता पाउन नसकेको विषय उठाएका छन् । उपसभामुख निर्वाचनप्रति प्रतिपक्षी दलसहित कानुन व्यवसायीको मौनतामाथि पनि असन्तुष्टि जनाएका छन् ।
पूर्वसभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई समेत राजीनामा गर्न लगाएर सभामुख र उपसभामुख निर्वाचन प्रक्रिया थालिएकामा सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भए पनि उपसभामुख निर्वाचनको प्रक्रिया भने हालसम्म अवरुद्ध रहेको छ । दुईमध्ये एक पदमा प्रतिपक्षी दलको प्रतिनिधित्व संविधानले सुनिश्चित गरेपनि निर्वाचनप्रति प्रतिपक्षी दल उदासिन बनेको हो ।
कोइरालाले ट्वीटमा लेखेका छन्ः “नेपाली काँग्रेसले विभिन्न संवैधानिक आयोगहरुमा भागवन्डा खोज्नुभन्दा संवैधानिक परिषदको (उपसभामुखको निर्वाचन) पूर्णतामा दबाब दिनुपर्ने होइन र? परिषद सदस्य समेत रहेको उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहँदा प्रतिपक्ष,बुद्धिजीवीहरु र कानून व्यवसायी किन मौन ?”