इटहरीः कोरोना महामारीका कारण लामो समयदेखि सुस्त गतिमा चलिरहेको मोरङको विराटनगर महानगरपालिका क्षेत्रको बजारले दसैँ नजिकिएसँगै गति लिन थालेको छ ।

महामारीकै कारण सीमा नाकासमेत बन्द हुँदा भारततर्फ जाने ग्राहक पनि विराटनगरमै रोकिएपछि व्यवसायीलाई व्यापार प्रवर्दनमा सहयोग पुगेको छ । लकडाउनका कारण अत्यावश्यकबाहेक अन्य वस्तुको व्यापारमा गिरावट आएकोमा अब भने त्यस्ता वस्तुको पनि खपत बढेको छ ।

व्यवसायीहरुका अनुसार दसैँलक्षित किनमेलका लागि आउने ग्राहकको भिड बजारमा बढ्न थालेको छ । सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम मोलेर भएपनि सर्वसाधारण किनमेलमा निस्किएका हुन् । व्यवसायी आलम अन्सारीका अनुसार पहिलेको तुलनामा व्यापारमा वृद्धि भएको छ । र भारतीय सीमानाका बन्द भएका कारण किनमेल गर्ने ग्राहक विराटनगरमा नै रोकिँदा केही सहज भएको उनको अनुभव छ ।

बजार पुरानै लयमा फर्कन मानिसमा भएको महामारीको भय अन्त्य हुनुपर्ने उनी बताउँछन् । दसैँमा अन्य समयमा सबै सामानको बिक्री बढ्ने गरेको भएपनि यस वर्ष महामारीका कारण मानिसले रोजगारी गुमाउन पुगेकाले आर्थिक संकट उत्पन्न भई ग्राहकको क्रयशक्तिमा कमी आएको व्यापारीहरुको भनाइ छ ।