इटहरीः मोरङको विराटनगर महानगरपालिका बस्ने उद्योगपति मंगतुराम अग्रवालद्वारा सञ्चालित उद्योगहरु लिलामीको प्रकृयामा गएपछि पारिश्रमिक नपाएका श्रमिकहरु मर्कामा परेका छन् ।

नौ ओटा उद्योगहरु टाट पल्टिएपछि राष्ट्रिय वाणिज्य बैंकले ती सबै उद्योग तथा सञ्चालकको व्यक्तिगत चल अचल सम्पति लिलामीको सूचना प्रकाशित गरेको छ । पीडित श्रमिकहरुले चार करोड रुपैयाँ पारिश्रमिक नपाएको भन्दै हिजो आइतबार पत्रकार सम्मेलन गरेका थिए । आफूहरुको पारिश्रमिक उद्योग सञ्चालकले तत्काल भुक्तान गर्नुपर्ने उनीहरुको माग छ ।

पत्रकार सम्मेलन गर्नेहरुमा दुहवीमा रहेको नारायण भेजिटेवल र अन्नपूर्ण सोप एण्ड केमिकल इन्डस्ट्रिजका दुई सय पूर्वश्रमिकहरु रहेका छन् । ट्रेड युनियन काँग्रेसका सुनसरी अध्यक्ष माधव चौधरीका अनुसार उद्योगले श्रमिकहरुको करिब पौने चार करोड रुपैयाँ पारिश्रमिक बक्यौता राखेको छ । नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष रमेश थापाले उद्योगले स्थायी मजदूरको तलब भत्ता, सञ्चय कोष र उपदानसमेत रोकेकाले श्रम कार्यालय मोरङको सहयोगमा उद्योगको जग्गा रोक्का गरिएको बताए ।

 श्रम ऐन २०६४ को दफा १ सय ६२ अनुसार हरहिसाब चुक्ता हुनुपर्ने उनको माग छ । बैंकले मगन्तुराम समूहको नाममा दुहवीमा रहेको अन्नपूर्ण सोपको १८ करोड ४९ लाख त्यस्तै दुहवी नगरपलिकामा रहेको अन्नपूर्ण सोपको नाममा रहेको जमिन तीन करोड ७५ लाख र भाइ दामोदरप्रसादको दुहवीकै तीन करोड ९० लाखको सम्पत्ति पनि लिलाम गर्ने भएको छ । जयकाली बिस्कुटको पाँच लाख ७० हजारको सम्पत्ति पनि लिलाम हुने भएको छ ।

यसका अतिरिक्त उनीहरूको परिवारको नाममा विराटनगरमा रहेको नौ करोड ३९ लाख र सुवोध अग्रवालको नाममा विराटनगरमा रहेको चार करोड १५ लाखको सम्पत्ति पनि लिलाम हुने भएको छ । मगन्तुराम अग्रवाल, सुरेश र दामोदरको नाममा रहेको नौ करोड ७० लाखको सम्पत्तिसमेत बैंकले लिलाम गर्न लागेको छ ।

यतिमात्र नभई मगन्तुरामको एकल स्वामित्वमा रहेको विराटनगरमा रहेको ६७ लाख २९ हजार मूल्यांकन भएको सम्पत्ति पनि बैंकले लिलाम गर्ने भएको छ । यसैगरी, लक्ष्मी फुटवेयर, गणेश प्लास्टिक, हनुमान स्पिनिङ एन्ड विभिङ इन्डस्ट्रिज, शान्ति फुटवेयर र अन्नपूर्ण आइरनको हालको बुढीगंगा गाउँपालिकाको जमिन तथा बन्द उद्योगको ३५ करोड ६७ लाख रुपैयाँ बराबरको सम्पत्तिसमेत लिलाम गर्न लागिएको छ ।