इटहरीः नेपाली कांग्रेसकी नेतृ आरजू देउवाले हरेक महिला एक पाइला अघि बढ्दा दुई पाइला पछि हट्नु पर्ने अवस्था रहेको बताएकी छन् ।

पुरुष १८ औं शताब्दीमै रहेको उनको भनाइ छ । नेपाल महिला संघले आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै देउवाले पुरुष प्रधान समाजमा अझै पनि महिलालाई अघि बढ्न धेरै गाह्रो रहेको बताइन ्। महिलालाई अधिकार दिने पार्टी नेतृत्व नै १८ औं शताब्दीको मानसिकतामा अल्झिएको उनको भनाइ छ । देउवाले महिला २१ औँ शताब्दीमा पुगिसक्दा पनि पुरुष १८ औँ शताब्दीमै रोकिएको अनको जिकीर छ ।

नेपालको संविधान र कांग्रेस पार्टी विधानमा पनि महिलाको बारेमा धेरै कुरा लेखिएको भए पनि कार्यान्वयनमा समस्या रहेको उनले बताइन् । कांग्रेस पदाधिकारीमा एकजना मात्र महिला हुनु विडम्बनापूर्ण अवस्था रहेको उनको टिप्पणी छ । पार्टीले महिलाको नेतृत्व क्षमताको कदर गर्नुपर्ने भन्दै उनले अवसर पाए महिलाले राम्रो काम गर्न सक्ने उल्लेख गरिन् । पार्टीले महिलालाई अवसरबाट बञ्चित गरेको उनको आरोप छ । महिला सशक्तिकरणका लागि पार्टीमा महिला सहभागीता ४० प्रतिशत पुर्याउनुपर्ने उनको माग छ ।