विराटनगरः सबै सुरक्षा निकायबीचको समन्वयमा चुनौतीको पहिचान गरी शान्ति सुरक्षा स्थापना गर्ने निष्कर्षसहित प्रदेश १ को सुरक्षा रणनीति तयार गरिएको छ ।
विराटनगरमा मङ्गलबार प्रदेश १ भित्रका १४ जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, सशस्त्र तथा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानसहित नेपाली सेना समेतको संलग्नतामा भएको संयुक्त सुरक्षा गोष्ठीले यस्तो निष्कर्ष निकालेको हो ।

प्रशासन संयन्त्रका उच्च अधिकारीको बैठकमा प्रदेश १ का मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रीको समेत सहभागिता रहेको थियो । गोष्ठीमा सबै सुरक्षा निकायबीचको समन्वय कायम गरी चाडपर्व लक्षित शान्ति र सुरक्षा स्थापना गर्नुपर्नेमा अधिकारीले जोड दिइएको बताइएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपाल पराजुलीका अनुसार मुख्य तथा सहायक राजमार्गदेखि ग्रामीण बस्तीमा लाग्ने मेला तथा जमघटमाथि समेत निगरानी बढाइने निष्कर्ष निकालिएको छ । सुरक्षा चुनौतीको क्षेत्रलाई संयुक्त ढङ्गले पहिचान गरी पहल लिने र सम्भावित घटनालाई रोक्न सबै सुरक्षा निकाय सक्रिय हुने गोष्ठीले निष्कर्ष निकालेको उनले बताए ।

प्रदेश १ प्रहरी कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा सम्भावित आपराधिक तथा उच्छृङ्खल क्रियाकलाप नियन्त्रणका लागि सबै जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा प्रहरी परिचालन गरिने उल्लेख गरिएको छ । सार्वजनिक भाडाका यातायातमा समेत प्रहरीले निगरानी राख्ने उल्लेख गरिएको छ ।
यसैगरी, बैंक तथा वित्तिय संस्थादेखि सार्वजनिक स्थानमाथि समेत निगरानी राखिने जनाइएको छ । सुरक्षा कार्ययोजना प्रदेशका १४ जिल्ला अन्तर्गत रहेका ६ सय ३९ प्रहरी निकायबाट कार्यान्वयनमा ल्याइने बताइएको छ ।