इटहरीः दूधकोशी हाइड्रो पावर नेपालले दूधकोशी–२ जलेश्वर ७० मेगावाट विद्युत् उत्पादनका लागि अनुमतिपत्र पाएको छ ।

प्रालिका जनसम्पर्क अधिकृत जनकराज खनालका अनुसार सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागले हिजो सोमबार अनुमतिपत्र जारी गरेको हो । खनालले थुलुङ दूधकोशी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र सोही गाउँपालिका–४ को खन्योखर्कमा विद्युत् गृह निर्माण गर्ने गरी उत्पादन अनुमतिपत्र प्राप्त भएको उल्लेख गरेका छन् ।

यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पु¥याउने योजना रहेकोमा सो परिवर्तन गरी तीन किलोमिटर सुरुङमार्गमार्फत खन्यखर्कमा निर्माण हुने विद्युत् गृहमा पुर्याउने योजना बनेपछि उत्पादन क्षमतामा गिरावट आई ७० मेगावाट कायम भएको कम्पन्ीको भनाइ छ । यसअघि आयोजनाको उत्पादन क्षमता २३० मेगावाट रहेको थियो । १४ अर्ब रुपैयाँको भारतीय लगानीमा निर्माण हुने यो विद्युत् आयोजनाबाट विद्युत् खरिदबिक्रीका लागि आगामी मंसिरसम्ममा नेपाल सरकारसँग सम्झौता हुने बताइएको छ ।